बोक्सी आरोपमा कुटिएकी राधालाई बेलायतबाट ५० हजार सहयोग



सैघाली खबर,
बैशाख २५ कैलाली । गत फागुन २४ गते बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरीलाई बेलायतमा बस्ने नेपालीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेलायतमा बसोबास गर्ने खोटाङ बाक्सिला ८ कि जयन्ती राईले राधाको अध्ययन खर्चका लागि भन्दै ५० हजार रुपैयाँ पठाएकी हुन् ।

उक्त रकम मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख विनोद घिमिरे र पत्रकार दीपक उपाध्यायले संयुक्त रुपमा चौधरीलाई हस्तान्तरण गरे ।

 

 

राधामाथि भएको अमानविय घटनाबारे विभिन्न संचारमाध्यमबाट थाहा पाएकी राईले चित्रकलामार्फत संकलन भएको रकम पठाएकी हुन् । राईले आफ्नो भतिजीको पास्नीमा आएका छरछिमेकका बालबालिकाहरुलाई चित्रकलामा सहभागी गराएर उक्त रकम संकलन गरेको बताएकी छन् ।

घोडाघोडी नगरपालिका(५ देउकलियाकी राधा अहिले सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । उनी वैशाख ३० गतेबाट सुरु हुने परीक्षाको तयारी गरिरहेकी छन् ।

गत फागु्न २४ गते देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरीलगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट गरेका थिए । रामबहादुर सहितका अभियुक्तहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।

घटनाको दुई महिना बित्दा पनि गाउँमा अझै पनि कतिपयले आफ्नो कुरा काट्ने राधाले सुनाइन् । छर छिमेकीहरुले राम्रोसंग बोलचाल गरे पनि गाउँका कतिपय व्यक्तिको पुरानै दृष्टिकोण रहेको उनले बताइन् । तर विद्यालयमा शिक्षक र सहपाठी साथीहरुले भने राम्रै व्यवहार गरेका उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्