सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता



 

काठमाडौं, २५ बैशाख । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।
ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजीआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज (मंगलबार) सभामुख महरासँग भेटवार्ता गरेको हो ।

भेटमा सभामुख कृष्णबहादुर महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताउनुभयो ।
‘नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ, उहाँले भन्नुभयो, ‘जनता–जनताबीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।’


बेलायतको संसदीय टोलीलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको भन्दै सभामुख महराले दुई देशबीचको संसदीय अनुभव आदान प्रदान गर्न भ्रमण फलदायी हुने आफूले विश्वास लिएको बताउनुभयो । नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताउनुभयो । ‘हामी संघीयताको अभ्यास गर्दैछौं, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौं, उहाँले भन्नुभयो, ‘बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौं ।

बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायतका क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताउनुभयो ।
धेरै नेपालीहरुले गोरखा सैनिकको रुपमा बेलायतमा सेवा गरिरहेको भन्दै सभामुख महराले उनीहरुका जायज मागहरु पूरा हुनेमा आफू विश्वस्त रहेको बताउनभयो । भेटका अवसरमा ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य तथा बेलायती सांसद नाइजेल इभान्सले दुई देशको सम्बन्ध निकै समधुर र प्रगाढ रहेको बताउनुभयो ।

इभान्सले नेपाल पर्यटनका हिसाबले निकै सुन्दर देश भएको बताउँदै हरेक वर्ष थुप्रै बेलायती नागरिकहरु नेपाल भ्रमण गर्न आउने गरेको बताउनुभयो । उहाँले बेलायत सरकारले विभिन्न माध्यमबाट शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्दै आएको सहयोग निरन्तर भइरहने आफूले विश्वास लिएको बताउनुभयो । भेटवार्तामा उपसभामुख शिवमाया तुम्वाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।  सो अवसरमा भ्रमण टोलीमा रहेका बेलायती सांसदहरु इभान्सका साथै डेभिस मोरिस, केरी म्याककर्थी, वीरेन्द्र शर्मा, लर्ड बाल्फे, लर्ड डोलाकिया र बिजीआइपियूकी प्रोजेक्ट म्यानेजर एमिली डेभिस रहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्