असहायका कोटामा नेताका छोराछोरी



सैघाली खबर
काठमाडौँ, २५ वैशाख । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर)ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।

पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद पुकार महर्जनले आफ्नी छोरीलाई निस्शुल्क पढाइरहेका छन् ।

बाल संगठनको मुख्य कार्यालय रहेको नक्सालको १४ रोपनीभन्दा धेरै जग्गा भाडामा लिएबापत बृहस्पति शिक्षा सदनले संगठनका २० विद्यार्थी निस्शुल्क पढाइदिने सम्झौतामा हस्ताक्षर गरेको छ । संगठनले २०५८ जेठ ८ मा ३० वर्षका लागि वार्षिक ३० लाख रुपैयाँमा विद्यालयलाई जग्गा भाडामा दिएको थियो ।
बाल संगठनले असहाय, टुहुरा र अभिभावकविहीन बालबालिकाका नाममा छुट्याइएको निस्शुल्क छात्रवृत्ति कोटामा नेताका छोराछोरी पढाइरहेको छ

संगठन र विद्यालयबीच भएको सम्झौताको १२।५ नम्बर बुँदामा जग्गा भाडामा दिएबापत संगठनको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका, अनाथ, असहाय वा सुविधाबाट वञ्चित बालबालिकालाई डे बोर्डर्स छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । यस्तो छात्रवृत्तिमा विद्यार्थीको बिहानको खाना, दिउँसोको खाजा, कापी, किताब, कलम, विद्यालय पोसाक र अन्य शैक्षिक सामग्री निस्शुल्क पाउँछन् । विद्यालयका अनुसार १ देखि १० कक्षासम्मको छात्रवृत्तिबापत विद्यालयको औसतमा ११ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

सांसद महर्जनकी श्रीमती रमा व्यञ्जनकार संगठनको प्रशासन शाखामा निमित्त प्रमुखका रूपमा कार्यरत छिन् । स्रोतका अनुसार काठमाडौं १० को कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेको महर्जनकी कान्छी छोरीले कक्षा १ देखि नै बृहस्पतिमा छात्रवृत्ति कोटामा पढदै आएकी छन् । उनकी जेठी छोरीले समेत यही कोटामा बृहस्पतिबाटै एसईई दिइसकेकी छन् ।

कान्तिपुरसँगको कुराकानीमा सांसद महर्जनले राजनीतिमा लाग्दा आफ्नो आम्दानीको स्रोत कमजोर भएको, घर चलाउनै गाह्रो भएकाले संगठन प्रमुख रीतासिंह वैद्यसँग अनुनय गरेर छोरीलाई छात्रवृत्ति मिलाएको बताए । असहाय बच्चाको कोटा खोस्न मिल्छ भन्ने प्रश्नमा उनले त्यो विषयमा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘दिदी ९अध्यक्ष रीता सिंह० लाई भनेपछि उहाँले फ्री गराइदिनुभएको हो ।’

संगठनका निर्देशक बालकृष्ण डंगोलले भने आफूहरूकहाँ आर्थिक अवस्था कमजोर भएका र बच्चा पढाउन नसक्ने थुप्रैको निवेदन आउने गरेको र त्यसलाई हेरेर छात्रवृत्ति दिइएको दाबी गरे । अभिभावकविहीन बच्चाको कोटामा नेताका छोराछोरीलाई किन छात्रवृत्ति दिएको भन्ने प्रश्नमा उनले आयस्रोत नभएका केही नेताका छोराछोरी पढाएको स्वीकार गरे । कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका नेताका छोराछोरी पढाएको दाबीसमेत उनले गरे ।

उनले कुन–कुन नेताका छोराछोरीलाई यो कोटामा छात्रवृत्ति दिइएको भन्ने खुलाउन चाहेनन् । उनले यति मात्रै भने, ‘नेता हुँदैमा हुन्छ रु राजनीतिमा लाग्दालाग्दै छोराछोरी पढाउन नसक्ने भएकालाई हेरेका हौं ।’ उनले दुईरतीन जना नेताका छोराछोरी छात्रवृत्तिमा पढिरहेको बताए । उनले भने, ‘हामीले बोर्डबाटै सल्लाह गरेर संगठनमा कार्यरत केही कर्मचारीका छोराछोरीलाई पनि छात्रवृत्ति दिएका छौं ।’

सन् १९६४ मा तत्कालीन राजपरिवारले सञ्चालनमा ल्याएको बाल मन्दिरले आफ्नो अफिसियल वेबसाइटमा अनाथ, परित्यक्त, द्वन्द्वपीडित बालबालिका, कैदीबन्दीका छोराछोरीको बालअधिकारको रक्षा गर्ने, पालनपोषण गर्ने, शिक्षामा सहयोग गर्ने र कमजोर आर्थिक अवस्था भएका परिवारका बच्चालाई शिक्षामा सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्