जानकी मन्दिर प्रवेशमा आजदेखि नै रोक, बाहिरैबाट पूजा गर्दै सर्वसाधारण ।।



सैघाली खबर/काठमाण्डौँ, २७ बैशाख।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउन एकदिन मात्रै बाँकी रहँदा जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । जनकपुरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ९ हजारसुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुर प्रवेश गर्ने सबै प्रवेशद्धारमा सुरक्षाकर्मीले कडाइका साथ जाँच गर्ने गरेका छन् ।

मोदीको सुरक्षालाई दृष्टिगत गर्दै जानकी मन्दिर तथा बाह्र विघा मैदानको एक सय मिटर क्षेत्र वरपर तथा जनकपुर विमानस्थलदेखि बाह्र विघाको सडक छेउछाउमा मोटरसाइकलको हेलमेट, झोला, पोका तथा धारिला बस्तु लिएर तथा माक्स लगाएर आवतजावत गर्न प्रहरीले निषेध गरेको छ । मोदीको अभिनन्दन गरिने बाह्रविघा मैदानलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरेको छ । मैदानभित्रको मञ्च भारतीय सुरक्षाकर्मीको घेरामा निर्माण भइरहेको छ ।

जानकी मन्दिर प्रवेशमा बिहीबारदेखि नै सर्वसाधारणलाई रोक लगाइएको छ । सुरक्षाका कारण श्रद्धालु भक्तजन एवम् सर्वसाधारणलाई पूजापाठ गर्न बिहीबार दिउँसो १२ बजेबाट प्रवेश निषेध गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बिहान १० बजे भारतको पटनाबाट भारतीय सेनाको हेलिकोप्टमा जनकपुर विमानस्थलमा अवतरण गर्ने र जानकी मन्दिर पुगेर ४५ मिनेट पूजाआजा गर्ने कार्यक्रम छ । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

जनकपुर विमानस्थलमा मोदीको स्वागतका लागि रक्षामन्त्री इश्वर पोख्रेल जानेछन् । मोदी जनकपुरबाट प्रस्थान गरेपछिमात्र सर्वसाधारणका लागि जानकी मन्दिरमा प्रवेश खुला गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले भीआईपी, सुरक्षाअधिकारी र स्विकृति प्राप्त सञ्चारकर्मीले मात्र मन्दिर प्रवेश गर्न पाउने डीएसपी धितालले जानकारी दिए । जानकी मन्दिरको सबै ढोका बन्द गरेर प्रवेश निषेध गरेपछि सर्वसाधारण ढोका बाहिरैबाट पूजाआजा गरिरहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्