निर्वाचन शिक्षा अब स्कूलमा पनि



सैघाली खबर,
बैशाख २७ । काठमाडौंको एक स्कूलमा राष्ट्रिय निर्वाचनको झल्को दिने गरी बिहिबार निर्वाचन गरिएको छ।

महिला र पुरुष मतदाताका लागि छुट्टाछुट्टै लाइन, मतदाता नामावली, निर्वाचन अधिकृतको कार्यालय, मतपेटिका, गोप्य मतदान गर्ने स्थान तथा मतदाताको नामावली रुजु गर्ने अधिकारीहरू पनि भएको राष्ट्रिय निर्वाचनको जस्तै संरचना र तयारी गरिएको थियो।

थापाथलीस्थित भिएस निकेतनका विद्यार्थीहरू निर्वाचनमा भाग लिइरहेका थिए। निर्वाचन अधिकृत पनि विद्यार्थी, मतदाता पनि विद्यार्थी, अनि निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन तयार पार्ने पनि विद्यार्थी थिए। विभिन्न समूहमा विभाजित भएर विद्यार्थीले निर्वाचनका लागि गर्नुपर्ने सबै भूमिका निर्वाह गरिरहेका देखिन्थे।

सामाजिक शिक्षामा पढेको निर्वाचन शिक्षालाई प्रयोगात्मक रूपमा बुझाउनुको साथै विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनकै जस्तै गरी निर्वाचन गराइएको स्कूलका संयोजक विनोद पोख्रेलले जानकारी दिए।

बिहिबारको मतदानका लागि सोमबारदेखि नै विद्यार्थीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका थिए। समर्थक र प्रस्तावकसहित विद्यार्थीले सोमबार उम्मेदवारी दिएका थिए। मंगलबार उम्मेदवारीमाथिको दाबी विरोध, बुधबार प्रचारप्रसार र बिहिबार मतदानको कार्यक्रम सार्वजनिक गरिएको थियो। निर्वाचन प्रक्रियाबाट कुनै पनि पदमा चयन हुँदा विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिष्पर्धा प्रणालीको अनि अभ्यास हुने विश्वास स्कूलले लिएको छ।

अभिभावकले मात्रै निर्वाचनमा मत खसाल्ने गरेको अनुभव लिएका विद्यार्थी मत खसाल्दा दंग छन्। निर्वाचन शिक्षाको प्रयोगात्मक अभ्यास गर्न पाउँदा खुसी छन्।

विभिन्न पदका लागि कक्षा ६ देखि कक्षा १० सम्मका ८० विद्यार्थीले उम्मेदवारी दिएका छन्। छात्रा र छात्रतर्फबाट स्कूलका सहसंयोजक १र१ जना, ४ वटा क्लबका संयोजक र सहसंयोजक तथा कक्षागत संयोजक, सहसंयोजक लगायत अतिरिक्त क्रियाकलापका विभिन्न ४० पदमा छात्रा रछात्र निर्वाचित हुनेछन्।

विद्यालयमा अनुशासन कायम गराउँदै अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि स्वस्जिम्मेवार महशुस गराउने उद्देश्यसाथ सृजना गरिने विभिन्न पदमा शिक्षकले नाम तोक्नुभन्दा निर्वाचन पद्धतिबाट चयन गर्दा स्वतन्त्र,पारदर्शी हुनुको साथै विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पनि लिन पाउनेछन्। त्यसैले विद्यालय तहमा निर्वाचन शिक्षालाई प्रभावकारी बनाउने हो भने यस्तो प्रयोगात्मक अभ्यास सबै विद्यालयमा हुनु जरुरी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्