मदिरा बिक्रीमा गृहको कडाई, तीनपुस्ते खुलाए मात्रै मदिरा पिउन पाईने ।।



सैघाली खबर/काठमाण्डौँ, २७ बैशाख।
मदिरा बिक्री वितरणमा गृहमन्त्रालयले कडाइ गर्न थालेको छ । यातायात सिन्डिकेटको अन्त्यपछि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को निर्देशनमा गृह मन्त्रालयले मदिरा नियन्त्रण कार्ययोजना र लागुऔषध पूर्णरुपमा नियन्त्रण गर्ने प्रस्ताव तयार गरिरहेको छ । यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । मदिरा र लागुऔषधका कारण समाज विखण्डनदेखि अपराध बढेको निष्कर्ष निकाल्दै गृह मन्त्री थापाले पुराना ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ योजना तयार पार्न गृह अधिकारीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको प्रवक्ता रामकृष्ण सुवेदीले बताए । गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यो अभियानमा जनताको साथ र समर्थन आवश्यक देखिन्छ । लागु औषध र मदिराका कारण समाजमा कलहदेखि अपराध बढेका बढेकाले यसका लागि सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको समेत उनले बताए । गृहकै एक अधिकारीका अनुसार मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने योजनासहितको तयारी मन्त्रालयले गरिरहेको छ ।

एक अधिकारीले अनुसार आफुहरुको कार्ययोजना लागु भएपछि रक्सी पिउने छुट्टै होटल तोकिन्छ । ती होटलको बोर्डमै यहाँ रक्सी पिउन पाइन्छ भनेर पनि लेखिन्छ । मदिराजन्य पदार्थ पिउनुअघि आफ्नो परिचयपत्र देखाएर तीनपुस्ते ‘आफ्नो, बुबाको र बाजेको नामसम्म उल्लेख गर्नुपर्ने नियम आउन सक्छ ती अधिकारीले भने । प्रत्येक वडामा एक स्थानमा मात्र मदिरा बिक्री र खाने स्थान तोकिन सक्ने ती अधिकारीको भनाई छ । विदेशबाट आउने मदिरा पनि नियन्त्रण गर्ने गृहको योजना छ । यद्यपी तारे होटललाई भने यो सुविधा प्रदान गरिनेछ । तारे होटलमा प्रायः विदेशी पाहुना हुने भएकाले उनीहरुलाई यो छुट हुनेछ ।

आम नागरिकले सहजरुपमा विदेशबाट आउँदा उपहार भनेर मदिराका बोतल ल्याउन पाउनेछैनन् । ल्याइएको पाइएमा विमानस्थलमै बरामद हुनेछ । मदिरा बिक्री वितरण नियमन निर्दे्शिका, २०६५ मा मदिरा बेच्ने समय लगायतका विषय उल्लेख गरिएपनि कार्यान्वयन हुन सकेका छन् । निर्दे्शिकामा डिपार्टमेन्टल स्टोर्सले मदिराजन्य पदार्थ बिक्री गर्न छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्न पाइने, १८ वर्ष उमेर नपुगेका व्यक्तिले सेवन र किनबेच समेत गर्न नपाउने उल्लेख छ । तर निर्दे्शिकाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्