अन्तर्राष्ट्रिय

बाँध फुट्दा मृत्यु हुनेहरूकाे संख्या ४८ पुग्याे

By थाहा अनलाइन

May 11, 2018

सैघाली खबर, बैशाख २८ नाकारु । केन्याको नाकुरु प्रदेशमा बाँध भत्किँदा मृत्यु हुनेहरूको संख्या ४८ पुगेको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमान्डर गिडेन किबुन्जाले मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने बताए।

प्रभावितलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् । हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रदेशका सरकारी अधिकारीहरुले बाँधको पानी घर तथा मानिस भएको ठाँउतिर गएकाले ठूलो क्षति बताएका छन् । बाढी पहिरोका कारण गत दुई महिनामा केन्यामाकुल एक सय ३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन्।