प्रदेश २

१२१ किलोको तीनवटा मालाले भारतिय प्रधानमन्त्रीलाई सम्मान, मोदीद्धारा प्रदेश २ मा १०० करोड सहायता दिने घोषणा ।।

By थाहा अनलाइन

May 11, 2018

सैघाली खबर/काठमाण्डौँ, २८ बैशाख।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ ।

शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका हुन् । अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविश्यमुखी भएर अघि बढ्न चाहेको बताएका छन् ।

उनले जनकपुर सहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको बताए । नेपाल र भारतको सम्बन्धको आधार भातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताए । उनले नेपाल र भारतले एक अर्काको सामिप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताए ।

यसैबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने छ । साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताएका छन् । ।