स्थानीयवासीले बनाए आफ्नै लगानीमा अस्पताल



सैघाली खबर,
रुकुम २८ बैशाख । गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन् ।

गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफैँले अस्पताल स्थापना गरेको झुम्लाबाङ–भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताउनुभयो । भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग स्वरुप रकम पठाइरहेको अध्यक्ष बुढाले बताउनुभयो ।

राज्यको कुनै पनि सहयोग नरहेको यो अस्पतालमा अहिले दैनिक रुपमा पाँच सातजना बिरामीले सेवा लिने गरेको बताइएको छ । यहाँ दैनिक सामान्य उपचार गरिन्छ । तीन–तीन महिनाको फरकमा विदेशी विशेषज्ञ डाक्टरसहितको टोलीले यहाँ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख शिवकुमार बुढाले जानकारी दिनुभयो । गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएका ८० जनाले सहयोग गरेको बताएको छ ।

स्वास्थ्य केन्द्र निर्माण, औषधि तथा स्वास्थ्यकर्मीको पारिश्रमिकमा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको प्रमुख बुढाले बताउनुभयो । गाउँमा कसैलाई सानो समस्या हुनेबित्तिकै उपचार सेवा लिने गरेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले २०६९ सालमा झुम्लाबाङ भेलेज फाउण्डेशन नामक संस्थासमेत स्थापना गरेका छन् । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्