नेपालले व्यापारमा सन्तुलन चाहेको छ : उपराष्ट्रपति पुन



 २८ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उहाँहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ । उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने काम गरेको बताउँदै नेपाल राजनीतिक रुपमा स्थायित्व हासिल गर्दै समृद्धिको मार्गमा अगाडि बढिरहेकाले नेपालको समृद्धिमा भारत सधैँ सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रुपमा समृद्ध बन्न भारतको सहयोग चाहिने बताउनुभयो । उपराष्ट्रपतिले नेपालले वस्तु निर्यातमा सहज पहुँच र व्यापारमा सन्तुलन चाहेको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालले पारवहन तथा आपूर्तिमा बेलाबेला देखापर्ने समस्या सधैँका लागि समाधान चाहेको बताउनुभयो । उहाँले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्दै सीमा क्षेत्रमा हुने डुबान र आवतजावतमा देखापर्ने समस्या हल हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले विगतमा दुई देशबीच भएको सहमति र सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने तथा सम्झौता र सन्धि दुवै देशको पारस्परिक हितअनुकूल र समयानुकूल हुने गरी पुनरवलोकन हुने विश्वाससमेत व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकामा खुशी व्यक्त गर्दै मुक्तिनाथ भ्रमणको सफलताका लागि शुभकामना दिनुभयो ।

भारतीय उपराष्ट्रपतिलाई निम्ता
उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीमार्फत भारतका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिँदै उचित समय मिलाएर नेपाल भ्रमणका लागि निमन्त्रणासमेत गर्नुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैँ तयार रहेको बताउँदै दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्न सकिने उहाँले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जनकपुर भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको उल्लेख गर्दै नेपाली जनताको उत्साह देखेर आफू थप उत्साहित भएको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भारतका उपराष्ट्रपतिको नेपाल भ्रमण हुने पनि बताउनुभयो ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उपराष्ट्रपति कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, भारतका लागि नेपालका कावा राजदूत भरतकुमार रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, भारतीय प्रधानमन्त्री कार्यालयका सचिव एके शर्मालगायत सहभागी हुनुहुन्थ्यो । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्