यस्तो छ मोदीको आजको भ्रमण तालिका



नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सनिबार मुक्तिनाथ पुगेकाछन् । मुक्तिनाथ मन्दिरमा पूजा गरेपछि उनी जोमसोम जानेछन्।

९ बजेपछि जोमसोमबाट काठमाडौं फर्किने तयारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । स्वागतकोलागि विछ्याइएको रातो कार्पेट र बनाइएका स्वागतद्वार पारगर्दै मुक्तिनाथ मन्दिरको मुख्य द्वारबाट ५ मिनेट हिँडेर मन्दिर पुग्ने कार्यतालिका छ । उनलाई मन्दिरको दायाँतर्फ ७ आनी र लामा हिराबहादुर ठकुरीले स्वागत गर्ने छन् ।

मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीका अनुसार मोदीले १०८ धारामा प्रोक्षण (हातले जल छर्कने) गर्ने छन् । मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदी, आनी कर्साङ टासी र नरेन्द्र मोदी मात्रै पूजामा सरिक हुनेछन् । मोदीले करिब २० मिनेट पूजामा बिताएपछि हवनमा सहभागी हुने पूजारीले बताए ।

हवनकालागि बागलुङबाट ९ जना बटुक निम्त्याइएका छन् । पूजा सकिएपछि स्थानीय मुक्तिनाथ संरक्षण समिति र आनीहरुको तर्फबाट समितिका अध्यक्ष लामा हिराबहादुर ठकुरीले मोदीलाई पद्मसम्भवको मूर्ति प्रदान गर्ने कार्यक्रम रहेको छ । पित्तलमा सुनको जलप लगाएर तयार गरिएको सो मूर्ति ८ इन्चको रहेको छ ।

मोदीको आगमनलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मुक्तिनाथ प्रवेशमा रोक लगाइएको छ । रानीपौवा र पुराङ बजारमा पर्यटक प्रवेशमा समेत रोक लगाइएको छ । बजार क्षेत्रमा भएका पर्यटकलाई समेत होटलबाट बाहिर निस्कन नदिन प्रहरीले व्यवसायीलाई आदेश गरेको छ । मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै कडाइ गर्नुपरेको बताए ।

काठमाडौं फर्किए लगत्तै मोदीले पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । मोदीले आजै नेपालस्थित भारतीय राजदूताबासले आयोजना गर्ने दीवा भोजमा सहभागी हुने कार्यक्रम छ । मोदीलाई आजै दिउँसो ३ बजे काठमाण्डौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।

नागरिक अभिनन्दनमा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, महानगरपालिका जनप्रतिनिधि, उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता रहनेछ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी छ । आजै अपरान्ह ४ बजे प्रधानमन्त्री मोदी नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्