भारतीय प्रधानमन्त्री मोदीद्वारा मुक्तिनाथ मन्दिरमा विशेष पूजा



२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन्

योसँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए ।

मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताए ।

 

शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

काठमाडौं आएपछि मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गर्नेछन् ।

मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने कार्यक्रम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्