प्रदेश ३

नेपाली सेनामाथी हस्तक्षेप गरेर भारतले नेपाललाई हेप्न खोज्योः हेमन्तप्रकाश ओली मध्यकमाण्ड इन्चार्ज नेकपा

By थाहा अनलाइन

May 12, 2018

नेपाल कम्युनिष्ट पार्टीको मध्य केन्द्रीय कमाण्डले मोदीको नेपाल भ्रमणको नाममा नेपालको सार्वभौममिकतामाथी ठाडो हस्तक्षेप भएको बताएको छ ।

इन्चार्ज हेमन्तप्रकाश ओलीद्धारा हस्ताक्षरित पर्चामा यस्तो बताइएको छ ।

नेकपा मध्य कमाण्डद्धारा जारी गरिएको उक्त पर्चा राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न ठाउँमा दशौं हजार पर्चा वितरण गरिएको नेकपा श्रोतले जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमापनि पर्चा वितरण गरिएको छ ।

नेपाली जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउँदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप भएको भनिएको छ ।

यस्तै भारतसँग विभिन्न समयमा भएका असमान सन्धी–सम्झौताहरु यथाशिघ्र खारेज गर्नु पर्ने भन्दै हालै भारतीय पक्षबाट गरिएका सिमा अतिक्रमणको विषयमा एक हुन सबै राष्ट्रवादी, देशभक्तहरुलाई आह्वान गरिएको छ । उक्त पर्चामा भारत सरकारद्वारा त्यहाँका माओवादीहरुमाथि गरिएको दमन तत्काल बन्द गर्नुपर्ने कुरापनि उल्लेख गरिएको छ ।

नेपाली प्रधानमन्त्री केपी ओली भारत भ्रमण गएको एक महिनामै दुईदिने भ्रमणकोलागि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । मोदीको उक्त भ्रमण धार्मिक भएको बताइएपनि उनको भ्रमण राजनैतिक एवं कुटनैतिक भएको प्रष्ट देखिन्छ ।

०७२ सालको विनाशकारी भुकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दी र उसको हेपाह प्रवृत्तिले गर्दा भारतप्रति नेपालीहरुको जनआक्रोस बढिरहको बेला उनले यो भ्रमणमा सम्बन्ध सुधारको कोशिस गरिरहेका छन् ।