शान्तिको सन्देश दिनुपर्छ– सभामुख



रोल्पा, २९ बैशाख । सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताउनुभएको छ ।

शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुखकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो, सभामुख महराले भन्नुभयो, ‘अब खेलकूदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ ।’

‘सभामुख कप खेलकूद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता पनि पहिलोपटक भएकोमा खुसी व्यक्त गर्नुभयो ।

खेलकूद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएको भन्दै सभामुख महराले खेलकूदले नेपालीहरुलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताउनुभयो ।

‘खेलकूद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन, उहाँले भन्नुभयो, ‘खेलकूदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ ।’

नेपाललाई समृद्ध बनाउन खेलकूद क्षेत्रको विकास अपरिहार्य भएकोतर्फ जोड दिदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकूद मैदानहरु बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीकालमा आफूहरुको खेलकूद मैदान मकैबारी भएको स्मरण गर्दै सभामुख महराले अहिले जिल्लाका प्रायजसो विद्यालयहरुमा खेल मैदानहरु भएको र रंगशाला निर्माण गर्न सकिने प्रशस्त सम्भावना भएका ठाउँहरु रहेको बताउनुभयो ।

देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरुलाई सम्बोधन गर्दै महराले भन्नुभयो, ‘तपाईंहरु सातवटै प्रदेशबाट रोल्पाा आउनुभएको छ, विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकूदका माध्यामबाट एकता र शान्तिको सन्देश दिदैछ, यहीँ सन्देश देशभर फैलाउनुहोस् ।’

खेलकूद क्षेत्रले महिलालाई स्थापित गराएको छ– उपसभामुख

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले खेलकूद क्षेत्रले महिलाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा स्थापित बनाएको बताउनुभयो ।

‘खेलकूद क्षेत्रले नेपाली महिलाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, ‘महिला खेलाडीहरुको प्रेरणाले नेपाली महिलाहरुको सशक्तिकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ ।’

आफ्नो पहिचानलाई स्थापित गर्दै रोल्पाले अहिले खेलकूदका क्षेत्रमा नयाँ काम गरिरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले रोल्पा सधैं क्रियाशील र गतिशील भइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलगायतले सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग–अलग गरी ७ प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग–अलग गरी ६ टोली सहभागी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्