असोजसम्म द्धिपक्षीय मामिलामा सम्बोधन हुने ।।



सैघाली खबर/काठमाण्डौँ, २९ बैशाख।
नेपाल र भारतले हल हुन बाँकी रहेका सबै द्विपक्षीय मामिला आगामी असोजको पहिलो सातासम्म सम्बोधन गर्न सहमति जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणको अन्तिम दिन शनिवार जारी संयुक्त वक्तव्यमा सन् २०१८ को सेप्टेम्बरसम्मको समयसीमाभित्र काम गर्न सम्बन्धित अधकरीहरूलाई निर्देशन दिइएको जनाइएको हो ।

त्यसअघि शुक्रवारको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १९ अर्थात् असोज ३ भित्र काम पूरा गर्न परराष्ट्रसचिवहरूलाई भनिएको बताएका थिए । नेपाल–भारतबीच हल हुन बाँकी रहेका विषय भनिए पनि कुन–कुन भनेर संयुक्त वक्तव्यमा उल्लेख गरिएको छैन ।

पत्रकार सम्मेलनमा भने ओलीले जलमार्ग, रेलमार्ग, व्यापार, सन्धिसम्झौता समीक्षा जस्ता विषयतर्फ इङ्गित गरेका थिए । त्यसक्रममा उनले प्रतिबन्धित भारतीय नोट सटहीबारे भारतीय प्रधानमन्त्रीलाई आग्रह गरिएको बताएका थिए । तर उक्त विषय संयुक्त वक्तव्यमा परेन ।

यसैबिच नेपालले लामो समययता उठाउँदै आएको थप हवाई मार्गबारे पनि यसपटक भारतीय पक्ष लचिलो बनेको जस्तो देखिएको छ । दुवै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न प्राविधिक टोलीहरूलाई निर्देशन दिएको संयुक्त वक्तव्यमा उल्लेख छ । चार वर्षअघि मोदी नेपाल भ्रमणमा आउँदा पनि नेपालले अतिरिक्त हवाई मार्गका लागि आग्रह गरेको थियो । त्यतिबेला जनकपुर, भैरहवा र नेपालगञ्ज हुँदै भित्रिने वा बाहिरिने मार्गका लागि नेपाली पक्षले प्रस्ताव गरेको थियो । तर भारतीय पक्षले त्यसबारे सकारात्मक प्रतिक्रिया दिएको छैन ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्