ओली र मोदीले अरुण तेस्रोको शिलान्यास



संखुवासभा — अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । शुक्रबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकैसाथ परियोजना शिलान्यास गरेपछि स्थानीयमा खुसी छाएको छ । ओली र मोदीले एकसाथ राजधानीमा स्वीच थिचेर शिलान्यास गरेको भिडियो नुमको फ्याक्सिन्दा ड्यामसाइटमा प्रत्यक्ष प्रसारण गरिएको थियो । निर्माण कम्पनी सतलजले दुबै तर्फबाट गरिएको कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था मिलाएको थियो ।

शिलान्यासपछि प्रतिक्रिया दिँदै पराजुलीले अब बैदेशीक रोजगारीका लागि अरुको देश जान नपर्ने बताए । ‘रोजगारीको व्यवस्था हुनु पर्छ,’ उनले भने, ‘पहिलो प्राथमिकता प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्छ, सानातिना कामको ठेक्का पनि स्थानीयले पाउनु पर्छ ।
भारतीय सतलज कम्पनीका सिईओ सतिशकुमार शर्माले सन् २०२२ मा बिजुली उत्पादन गरिछाड्ने प्रतिबद्धता जनाए । उनले आयोजना कसरी सुरु हुन्छ र सन् २०२२ सम्ममा केके काम हुन्छ भन्ने विषयमा जानकारी दिए । ‘हाम्रो लक्ष्य सन् २०२२ मा बिजुली बाल्ने हो,’ उनले भने, ‘जसरी पनि काम सम्पन्न गरेर बिजुली निकाल्छौं ।’ यहाँ ९ सय मेगावाट बिजुली उत्पादन हुने र नेपालमा खपत भएर बाँकी रहेको बिजुलीमात्रै भारत लैजाने उनले खुलासा गरे ।
शर्माले अरुण तेस्रो निर्माणमा कोसी सडक बाधक भएको बताए । ‘सडकका कारण उपकरण ल्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘तेह्रथुमको बसन्तपुरबाट संखुवासभा आउने सडक खराब छ । ठूला उपकरण ल्याउन सकिरहेका छैनौं ।’
निर्माण सामाग्री लिएर आएको ट्रक बसन्तपुर मुढे सडकको बीचमा पटकपटक पल्टिएर दुर्घटना भएकाले उक्त खण्ड चाँडो स्तरोन्नति गरिदिन उनले सरकारसँग आग्रह गरे । उनले निर्माणाधिन छ्याङकुटी पुखुवा सडकमा पनि सोचे अनुसार काम नभएको बताए ।
यहाँबाट संखुवासभा, भोजपुर र खोटाङ हुँदै टान्समिसन लाइन लगिनेछ । उनका अनुसार ट्रान्समिसन लाइनमा ५ सय १ वटा टावर निर्माण हुनेछन् । तुम्लिङटारस्थित नेपाल विद्युत प्राधिकरणको जग्गा आयोजनाका लागि हस्तान्तरण भइसकेको छ । शर्माले आयोजनालाई सुरक्षा चुनौती पनि रहेको बताए । पावरहाउस स्थलको भवनमा तीनपटक कुकर बम बिस्फोट भएपछि चुनौती थपिएको उनको भनाइ थियो । ‘पटकपटक बम विस्फोट भएका छन्,’ उनले भने, ‘सामानको र व्यक्तिगत सुरक्षा पनि चाहिन्छ ।’ प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले बसन्तपुर चैनपुर खण्डको सडक स्तरोन्नति पहिलो प्राथमिकता भएको बताए । ‘यो सडक सबै मिलेर राम्रो बनाउँछौं,’ उनले भने, ‘चिन्ता नलिए हुन्छ, अब तीव्र गतिमा सडकको काम हुन्छ ।’
पूर्वसांसद तारामान गुरुङ र दीपक खडाले पनि निर्माण कम्पनीलाई ढुक्क भएर काम गर्न आग्रह गरे । ‘निर्माण कम्पनीले सुरक्षाको चिन्ता नलिए हुन्छ,’ उनीहरुले भने, ‘ढुक्क भएर काम गर्नुस्, सानातिना अवरोधले यो आयोजना छेकिनेवाला छैन । प्रदेश सांसद पूर्णबहादुर राई, तुलसी न्यौपाने, सरिता खडा र पदमकुमारी गुरुङले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबै मिलेर सहयोग गर्ने बताए ।
परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआव्जा वितरण गरेको छ । १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ मुआब्जा बाडिएको हो । ‘प्रभावित क्षेत्रका २ सय ५८ परिवारलाई बैंकमार्फत मुआव्जा वितरण गरिसक्यौं,’ प्रजिअ गणेशबहादुर अधिकारीले भने, ‘११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी छ । उनीहरु प्रक्रियामा छन् ।’
मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङुटीबाट दिदिङको पुखुवा र ड्यामसाइटबाट पावरहाउस जाने लिंक रोड निर्माण भइरहेको छ । आयोजना शिलान्याससँगै जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास जिल्लावासीमा देखिएको छ । आयोजनाको ६ प्रतिशत शेयर स्थानीयले पाउने छन् । आयोजना निर्माणका क्रममा जिल्लाका ६ गाउँ प्रभावित हुने छन् । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाबाट २५ वर्षमा नेपाललाई ३ अर्ब ४८ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्