सुन तस्करीको रकम जग्गामा, अनुसन्धान गर्न अझै बाँकि, म्याद भने सकिदै ।।



सैघाली खबर/काठमाण्डौँ, ३१ बैशाख।
चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करीको रकम जग्गामा लगानी गरेको भेट्टिएको छ । गोरे र उनको समूहले पछिल्लो चार वर्षमा मात्र ३८ क्वीन्टल सुन तस्करी गरेको समितिको निर्णय छ । सुन तस्करीको आरोपमा ९ प्रहरीसहित ३४ जना पक्राउ परेका छन् भने ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहँदा अनुसन्धान समितिले भने तस्करीबाट भएको रकम खोजी थालेको छ ।

स्रोतका अनुसार उप्रेतीले मोरङ र काठमाडौंका विभिन्न ठाउँका जग्गामा लगानी गरेका थिए । गोरेले मोरङको मिक्लाजुङ ९ मा २६ कठ्ठा जग्गा किन्नका लागि बैना दिएको समेत खुलेको छ । उनले जग्गा धनी स्थानीय व्यापारी जयगोपाल शाहलाई २३ लाख रुपैयाँ दिएको खुलेको हो । उनीहरुबीच १ करोड ५६ लाख रुपैयाँमा जग्गा किनबेच गर्ने सहमति भएको बताइएको छ । यद्यपि, गोरेले पूरै रकम भने दिइसकेका थिएनन् । त्यो जग्गामा क्रसर उद्योग खोल्ने गोरेको योजना रहेको बताइन्छ ।

गोरेले आफ्नो कार उर्लाबारीस्थित पशुपति बोर्डिङ स्कुलका सञ्चालक विजय कार्कीलाई दिएको पनि खुलेको छ । उनले मोहन काफ्लेको नाममा खरिद गरेको गाडी कार्कीलाई दिएका हुन् । त्यसवापत २० लाख रुपैयाँ नगद लिइसकेको देखिन्छ भने अरु रकम जग्गा दिएर मिलाउने गरी सहमति भएको थियो । अहिलेसम्म गाडी पास भने भएको छैन ।

यसैबिच सनम शाक्यको हत्याबाट सुरु भएको सुन तस्करीको अनुसन्धान थालेको समितिको म्याद जेठ ४ गते सकिँदैछ । यद्यपि, अनुसन्धानका थुप्रै पाटाहरु बाँकी छन् । समितिका एक अधिकारीले म्याद थपिन सक्ने संकेत गरे । प्रधानमन्त्री समक्ष समितिले ब्रिफिङ गर्ने क्रममा पनि सुन तस्करीको विविध पाटोबारे जानकारी गराएको भन्दै अनुसन्धान गर्नु पर्ने केही कुरा बाँकी नै रहेकाले म्याद थपेर अरु अनुसन्धान थालिने छ । यसबारे मन्त्रीपरिषद्ले निर्णय गर्ने हो ।

सरकारले संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप समिति गठन भएको थियो । गृह मन्त्रालयका सह सचिव ईश्वर पौडेलको नेतृत्वमा भएको समितिले घटनामा संलग्न २९ जनालाई पक्राउ गरिसकेको छ । ३३ जना अझै फरार छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्