दुर्गमको पीडा ‘ज्यान लिने भीरको यात्रा ’



सैघाली खबर
जाजरकोट, ३१ वैशाख । घटना १– जिल्लाको नलगाड(५ ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको गत सोमवार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो । घर नजिकैको भिरबाट लड्दा करिब तीन सय मिटर तल उनी मृत अवस्थामा फेला परेका थिए ।

घटना २– गत फागुनमा बाटोमा पैदल यात्रा गर्ने क्रममा नलगाड(५ गेरेनी भिरमा माथिबाट आएको ढुङ्गाले लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो । जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घटनास्थलमै उनको ज्यान गयो ।

घटना ३– गत चैत्रमा जङ्गलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुङ्गा लागेर मृत्यु भयो । माथिबाट आएको ढुङ्गा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागी जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो ।

घटना ४– नलसिङ्गाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको गत चैतमा मृत्यु भयो । नलगाड–५ गेरेनीस्थित नलसिङ्गाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो ।

यी केही प्रतिनिधिमुलक घटना हुन् । जाजरकोटमा हिँड्दा हिँड्दै ज्यान जानेको सङ्ख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दा हिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयसँग पैदल यात्राको क्रममा ज्यान जानेको सङ्ख्या १३ जनाको मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार जाजरकोटमा एक वर्षको अवधिमा हिँड्दा हिँड्दै लडेर ३० जनाको ज्यान गइसकेको छ ।

खबर गर्दा लडेर वा ढुङ्गा लागेर मृत्यु भएकाहरुको पोस्टमार्टम गर्नुपर्ने भएकोले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्याङ्क थोरै देखिएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्याङ्क पोस्टमार्टम गरिएकाको मात्र हो । पोष्र्टमार्टम गर्ने झन्झटले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएको छ । जाजरकोट भौगोलिक रूपमा निकै विकट भएकोले लडेर मर्नेको सङ्ख्या धेरै रहेको बताए ।

‘माथि हेर्दा पुरै पहाड मात्र देखिन्छ तल सुसाउने खोला र नदी । हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङ नै सिरिङ्ग गर्छ’, जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अफ्ठयारो र जोखिमपुर्ण छन् बारेकोट–५ का पृथीबहादुर नेपालीले भने, ‘महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसहरूलाई यो बाटो हिँड्न निकै सकस खेप्नु पर्दछ ।’

बारेकोट जानेबाटोमा भिरबाट खसेर तथा ढुङ्गा लागेर ५ जनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकाम बाहेकका गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन ।

गाडी नपुग्दा स्थानीय बासिन्दा पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोरेटो बाटो साँघुरो, जीर्ण र जोखिमपुर्ण हुँदा मानिसहरू मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।

कतिपय ठाउँमा पुल छैनन् फड्केबाट खोला तर्नुपर्छ । कतिपय ठाउँका पुल एकदमै जीर्ण छन् । बाटो मर्मत सुधार हुन सकेको छैन । जसले गर्दा मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन् नलगाड १० का नरबहादुर ध्यारले भने ‘स्थानीय बजारबाट गाउँ जाने बाटाहरू जोखिमपुर्ण छन् । माथिबाट ढुङ्गा खस्ने हो कि तल खुट्टा चिप्लिने हो पत्तै हुँदैन । हिँड्दा पनि निकै सावधानी भएर हिँड्नु पर्छ ।’

लडेर घाइते भएकाहरुले पनि तत्काल उपचार नपाउँदा ज्यान जाने गरेको छ । नजिकमा सुविधा सम्पन्न अस्पताल छैनन् । टाढा लिनका लागि यातायातको सुविधा नहुँदा निकै समस्या पर्ने गरेको ध्यारले बताए । उनले भने ‘घरबाट निस्केको मान्छे फर्केर आउँछ कि आउँदैन भनेर चिन्ता गर्नुको विकल्प छैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्