वर्षासंगै वाढीको पिर



सैघाली खबर
बैतडी , ३१ वैशाख । सिगास गाउँपालिका पीपलचौतरी गाउँको तल खहरे खोला, बायाँतिर न्वाघरीगाड नदी छ । पानी पर्ने छाँटकाँट हुनेबित्तिकै सो गाउँका १० घरपरिवार खोलाले बगाउने हो कि भनेर दिनरात चिन्तित हुन्छन् । ‘वर्षा नजिक आउन लाग्यो, दिनदिनै पानी पर्न थालिसकेको छ, परीगाउँ खोलामा आउने बाढीले बस्ती नै बगाउला भन्ने डर छ’, स्थानीय टीकाराम नेपालीले भने’, वर्षौंदेखि खोलाले कटान गरिरहेको बताउँदै उनले भने, ‘खेतीयोग्य जमिन यसै खहरे खोलाले बगायो । अब बस्ती पनि बगाउने चिन्ता छ । अन्यत्र जान सकिने अवस्था छैन । ओत लाग्ने झुपडी यतै छ । यो पनि कतिखेर खोलाले बगाउँछ थाहा छैन ।’

स्थानीय मोहन नेपालीले परीगाउँ खोलामा गत वर्ष जेठमा आएको बाढीले नजिकैको प्रसूति सेवा केन्द्र बगाएको बताए । ‘हाम्रो खेत पनि बगायो खोलाले प्रसूति सेवा केन्द्र पनि बगाएपछि अहिले अर्को ठाउँमा भवन बनाएर सञ्चालन भइरहेको छ, बर्खा लाग्ने बेला भयो, अब हामीलाई निद्रा पनि लाग्न सकिरहेको छैन, जमिन पनि एकदम कच्चो छ’, उनले भने, ‘हाम्रो गाउँको समस्याबारे धेरै ठाउँमा कुरा राख्यौं । तर, बाढी नियन्त्रणका लागि कसैले सहयोग गरेनन् ।

प्रत्येक वर्ष खोलाले जमिन कटान गर्दै गएपछि पीपलचौतारीको बस्ती नै जोखिममा पर्ने गरेको वडासदस्य ईश्वरा नेपालीले बताइन् । ‘अस्तिको पानीपछि आएको बाढीले धानको बेर्ना नै नष्ट गरिदिएको छ, खहरे खोलाले जमिन मासिसक्यो, कतिखेर घर बगाउँछ भन्ने चिन्ता छ’, उनले भनिन्, ‘गाउँको समस्याबारे गाउँपालिका अध्यक्षज्यूलाई समेत जानकारी गराइसकेकी छु, तर अहिलेसम्म केही पहल भएको छैन ।’

गाउँपालिकामा खोलाले बस्ती बगाउने चिन्ता एकातिर छ भने अर्कोतिर पुल नहुँदा आवतजावत गर्नसमेत समस्या भएको छ । परीगाउँ खोलामा पुल नहुँदा बर्सातमा आवतजावत बन्द हुने गरेको वडासदस्य नेपालीले बताइन् । ‘एकातिर नदी छ, तलतिर खोला । दुवैको नजिकमा पुल छैनन् । पीपलचौतारी गाउँका मानिसलाई आवतजावत गर्न नै मुस्किल छ ।’ उनले भनिन्, ‘बाढीका कारण बालबालिकाहरूको विद्यालयसमेत छुट्छ, बर्सातको समयमा बालबालिका घरमै बस्नुपर्ने बाध्यता छ ।’ परीगाउँ खोलामा पुल नहुँदा बर्सातमा विद्यालय जान नपाएको कक्षा ९ की छात्रा बबिता नेपालीले गुनासो गरिन् । उनले भनिन्, ‘हामी पीपलचौतारी बस्तीका मात्रै नभएर माथिल्लो गाउँका विद्यार्थी पनि यसै बाटो भएर विद्यालय जान्छौं । तर, खोलामा पुल नहुँदा बर्सातमा विद्यालय नै जाने गरेका छैनौं, हाम्रो पढाइमा बाधा पुगेको छ ।’

परीगाउँ खोलामा पुल नहुँदा आफूहरूको पठनपाठनमा बाधा पुग्ने गरेको छात्रा सुनिता साउदले पनि बताइन् । उनले भनिन्, ‘कुनै दिन विद्यालय जाँदा भेल आएको हुँदैन । फर्किंदा पानी परेर भेल आउँछ । यस्तो बेला हामीलाई निकै समस्या हुने गर्छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्