चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस ।।



सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
चामलको आयात अत्यधिक बढ्न थालेपछि त्यसमा अंकुश लगाउन सरकारले भन्सार महसुल बढाउने प्रक्रिया अघि बढाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस गरेको हो । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले चामलमा भन्सार महसुल १० प्रतिशत बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिए । हाल चामलमा ५ प्रतिशत भन्सार छ । कृषि सुधार शुल्क अन्तर्गत उक्त कर असुल गरिँदै आएको छ ।

मन्त्रालयले सात मिलिमिटरभन्दा लामो, मिठो, मसिनो र बास्नादार चामलमा भन्सार बढाउने प्रस्ताव गरेको हो । यी चामलको बजार मूल्य तुलनात्मक रुपमा बढी पनि छ । आगामी आर्थिक वर्षको बजेटमार्फत यसको सम्बोधन हुने विश्वास मन्त्रालयको छ । चामलमा भन्सार वृद्धि गर्दा त्यसको आयात न्यूनीकरण हुने तथा स्वदेशी किसान र उद्योगलाई पनि प्रवर्द्धन गर्न सहयोग मिल्ने विश्वास मन्त्रालयको छ ।

यसैगरी कृषि सुधार शुल्कअन्तर्गत धानमा लाग्दै आएको ८ प्रतिशत भन्सारलाई न्यूनतम ३ प्रतिशतसम्म झार्नुपर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । पछिल्लो समय धानको उत्पादनमा बढोत्तरी भएअनुरुप चामल आयात घट्नुको साटो उल्टो बढेपछि त्यसमा लागेको भन्सार महसुल बढाउने निर्णयमा मन्त्रालय पुगेको हो । पछिल्लो समय सरकारले पनि आयात प्रतिस्थापनलाई प्रमुखताका साथ अगाडि सारेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो नौ महिनाको अवधिमा झण्डै २२ अर्ब रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ । गत आर्थिक वर्षमा चामल आयात २४ अर्ब रुपैयाँ मूल्य बराबरको पुगेको थियो । केही समयअघि सरकारले चिनीको भन्सार महसुल १५ प्रतिशतबाट दोब्बर बढाएर ३० प्रतिशत र्पुयाएको थियो । भलै हालैमात्र सर्वोच्च अदालतले भन्सार महसुल वृद्धिको सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्