ह्यामर भन्सार छलीमा कर्मचारीको संलग्नता



सैघाली खबर
बुटवल , १ जेष्ठ ।  प्रज्ञापनपत्रविना भन्सार पास भएको ह्यामर (ब्रेकर) को अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन । व्यवसायीले स्टक भन्दै पर्याप्त प्रमाण जुटाउने बताए पनि तीन दिनसम्म प्रमाण पेस नगर्दा सत्यतथ्य बाहिर ल्याउन नसकिएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले बतास ट्याक्टर प्रालिले पटक(पटक गरेर कागजात पठाएकाले परिणाम बाहिर ल्याउन नसकिएको बताए ।

भन्सार पास भएर ना ७ ख ९३२८ र ना ५ ख ७३८३ नम्बरका ट्रकमा लोड गरिएका एकरएक वटा एक्साभेटरको प्रज्ञापन पत्र भए पनि दुईवटै ट्रकमा लोड गरिएका एकरएकवटा ह्यामर ९ब्रेकर० को भने प्रज्ञापनपत्र नभएपछि आइतबार राति राजश्वले नवलपरासीको दाउन्नेबाट ट्रकसहित सामान नियन्त्रणमा लिएको थियो ।

बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौले आयात गरेका यी मेसिनरी सामानमा ह्यामरको भ्याट बिल भने काटिएको छ । भ्याट नम्बर ३०४००६८७७ बाट वैशाख २४ गतेको मितिमा काटिएको बिलमा एउटा ह्यामर कार्की रोडा ढुंगा उद्योग प्रालि बनेपाका नाममा काटिएको छ भने अर्को ह्यामरको भ्याट बिल हङपाङ निर्माण सेवा प्रालि अत्तरिया त्रिवेणीका नाममा काटिएको छ ।

भन्सार स्रोतका अनुसार उक्त ह्यामर केही भन्सार अधिकृत, बतास ट्याक्टरका संचालकद्वय शान्तराज बतास र देवेन्द्र श्रेष्ठ तथा भन्सार एजेन्ट मधुप्रसाद पन्थीको मिलेमतोमा भन्सार छली गरी ल्याइएको हो ।

भन्सारका एक कर्मचारी भन्छन् ‘पहिलादेखि नै ह्यामर भन्सार छली गरी आयात गरिँदै आएको छ, हामी एकदुई वर्ष मात्रै यहाँ बस्नेलाई खासै थाहा हुँदैन । यहाँ लामो समयदेखि जरो गाडेर बसेका कर्मचारी र एजेन्ट हावी छन्, उनीहरुकै संलग्नतामा अवैध काम हुँदै आएको छ ।’

एउटा ह्यामरको भन्सार मूल्य करिब १७ लाख रुपैयाँ पर्छ । यसरी दुई ह्यामरको मूल्य ३४ लाख हुन आउँछ । भन्सार पास भएका दुईवटा एक्साभेटरको प्रज्ञापन पत्रमा भन्सार अधिकृत शिवओम श्रेष्ठ र एजेन्टकातर्फबाट मधुप्रसाद पन्थीको हस्ताक्षर छ । एजेन्ट पन्थीले बतास ट्याक्टर प्रालिको मालसामान भन्सार पास गराउने गर्छन् । उनी कम्पनीको भैरहवा क्षेत्रको सबै काम हेर्छन् ।

सञ्चालक देवेन्द्र श्रेष्ठले ह्यामर भन्सारबाट लिलामी किनेको बताए पनि भैरहवा भन्सार कार्यालय प्रमुख भुपालराज शाक्यले भन्सारबाट ह्यामरको कुनै लिलामी ननिकालिएको बताए । ‘यहाँबाट कुनै लिलामी निकालिएको छैन, राजश्वले अनुसन्धान गर्दै छ । हामी पनि आन्तरिक अनुसन्धान गछौं’, शाक्यले भने ‘सत्यतथ्य चाँडै बाहिर ल्याउँछौं ।’

यसअघि एक्साभेटरसँगै प्रज्ञापन भई आयात हुँदै आएको ह्यामर अर्थ मन्त्रालयले केही समय अघि परिपत्र गरी ह्यामरको छुट्टै प्रज्ञापन पत्र भर्न निर्देशन दिएको थियो ।

भैरहवा भन्सारबाट मिलेमतोमा सामान पास गराउने प्रवृत्ति नयाँ भने होइन । कहिले तरकारीको प्रज्ञापन भरेर मासु त कहिले विना प्रज्ञापन मालबाहक गाडी पास हुँदै आएका छन् । यसअघि बाहिर आएका घटनामा संलग्न कर्मचारी, एजेन्ट र व्यवसायीलाई कारबाही नहुँदा बारम्बार मिलेमतोका घटना दोहोरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्