कैदी भक्तबहादुरको मृत्यु हो कि हत्या ? के भन्छ प्रहरी अनुसन्धान ?



काठमाडौ

कारागारमा  कैदीको ज्यान गएपछि त्यसको कारण खोज्नेक्रममा अनेक तथ्यहरु बाहिर आउँदैछन् । गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३० जनासँग बयान लिइसकेको छ ।

करणी र ज्यान मुद्धामा सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे शंकास्पद मृत्यु र जेलभित्रको बेथिति सार्वजनिक भएलगत्तै गृहले छानबिन समिति बनाएको हो । स्रोतका अनुसार गृहले गठन गरेको समितिले अहिलेसम्म मृतकसँगै सुत्ने कैदी, नजिकको संगतमा रहेकाहरू, चौकीदार, जेलर, सुरक्षा प्रमुख र सिरियल किलरका रूपमा चिनिने कैदी अभिषेकराज सिंहलगायतसँग बयान लिएको छ ।

कैदी भक्तको २० गते बिहान व्यायामशाला गएर आए लगत्तै रक्तचाप एक्कासि न्यून भएपछि वीर अस्पताल लगिएको सथयो। स्वस्थ रहेका भक्तको माथिल्लो रक्तचाप एक्कासि कसरी ५० र ४० मा झर्‍यो भन्ने खुलेको छैन । समितिले भक्तलाई अस्पताल पुर्‍याउने र कुरुवा बस्ने प्रहरीसँग पनि बयान लिएको छ । समितिका एक सदस्यले भक्तको मृत्यु शंकास्पद नै देखिएको र मृत्युसँग धेरै तथ्य जेलिएको बताए ।

समितिले हस्तलिखित पत्रको वैधानिकता जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाउने तयारी गरेको छ । समितिका अनुसार विधिविज्ञानले उक्त पत्र भक्तले नै लेखेका थिए वा थिएनन्, कति समय अघि लेखेका थिए लगायतका तथ्य बाहिर ल्याउनेछ ।

स्रोतका अनुसार नख्खु जेलभित्र कैदीहरूको दुई फरक–फरक समूहबीच संघर्ष छ । समितिका एक सदस्यका अनुसार चौकीदार सहितको समूहलाई हटाएर आफ्नो समूह स्थापित गर्ने संघर्ष पनि त्यहाँ चलेको देखियो । जेलभित्र सञ्चालनमा रहेका पसल, रेस्टुराँ, वासिङ सेन्टर, मासु पसलबाट हुने आम्दानी र अन्य अवैध चलखेलबाट प्राप्त हुने आम्दानीका निम्ति केही कैदीबीच अस्वाभाविक संघर्ष चलेको समितिका एक सदस्यले बताए ।

भक्तलाई करिब ३ महिनाअघि अर्का कैदी अभिषेकको पहलमा डिल्लीबजार कारागारबाट नख्खु सरुवा गरिएको थियो । मृतकको साथबाट भेटिएको पत्रमा उनले आफूमाथि कुटपिट हुने गरेको, जेलभित्र अनेक समस्या रहेको भन्दै कैयन कैदीमाथि पोल लगाएका छन् । समितिले उक्त पत्रमा लेखिएको तथ्यको सत्यता जाँच गरिरहेको छ ।

अनुसन्धानमा खटेको प्रहरी टोलीले मृतकका परिवारले भक्तको मृत्यु कारागारभित्र कुटपिटका कारण भएको दाबी गर्दै घटनाको छानबिनका लागि मृतकको साथबाट फेला परेको भनिएको तीन पृष्ठको हस्तलिखित पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाएका थिए । त्यसलगत्तै थापाले समिति गठन गर्न निर्देशन दिएका थिए । एक्कासि बिरामी भएपछि उनलाई २० गते वीर अस्पताल लगिएको थियो । वीरमा उपचार हुन नसकेपछि पाटन अस्पताल लगिएका भक्तको २१ गते बिहान मृत्यु भएको थियो ।

ललितपुर प्रहरीले एसपी दीपबहादुर बोगटीको नेतृत्वमा गठन गरेको ५ सदस्यीय समितिले मृतकको पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्ट कुरिरहेको छभने मृतक कैदी र सिरियल किलर अभिषेकको सम्बन्धबारे पनि अध्ययन गरिरहेको छ ।

ललितपुर प्रहरीले शंकास्पद मृत्युको घटनाबारे मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार सरकारी वकिलको कार्यालयमा फाइल पेस गरिसकेको छ । प्रहरी परिसर, ललितपुरका प्रवक्ता डीएसपी नरेन्द्र श्रेष्ठका अनुसार अनुसन्धानपछि मृत्युमा कसैको भूमिका देखिए उनीहरूलाई प्रतिवादी बनाइनेछ । एक प्रहरी अधिकारीले भक्तको मृत्यु जेलभित्रको शक्तिसंघर्षको परिणाम भएको बताए ।

घटनालगत्तै मृतकका दाइले नख्खु जेल पुगेर कैदी अभिषेकलाई किन भेटे भन्ने पनि समितिले खोजिरहेको छ । स्रोतका अनुसार जेलभित्रका कैदी भेट्न बारम्बार जानेहरूको सूचीमाथि पनि अनुसन्धान हुँदै छ । जसबाट कैदी र बाहिरका व्यक्तिबीचको कनेक्सन र जेलभित्रका गतिविधिमा त्यसको प्रभावबारे तथ्य बाहिर आउने आशा समितिको छ । प्रहरीका अनुसार टिचिङ अस्पतालबाट भिसेरा र पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानको नयाँ बाटो खुल्नेछ ।

मृतकको साथबाट फेला परेको पत्रमा चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि रकम मागेको र आफूमाथि कुटपिट भएको उल्लेख छ । तर अनुसन्धानका निम्ति बनेका दुवै समितिले अभिषेकको निकट मानिएका भक्तमाथि कसले, कुन बेला, कसरी कुट्यो भन्ने प्रश्नको अकाट्य उत्तर भेटिसकेका छैनन् । जेष्ट १ गते कान्तिपुरमा छापिएको समाचारको सम्पादित अंश:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्