आजदेखि मलमास सुरु :के काम गर्दा शुभ अशुभ ?



सैघाली खबर
काठमाण्डौं,२ जेठ
धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु भएको छ। मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन ।

अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभर ४ पक्ष रहन्छ । यो अबधिमा अधिक जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ शुक्ल पक्ष, शुद्ध जेष्ठ कृष्ण पक्ष र अधिक जेष्ठ कृष्ण पक्ष गरी ४ पक्ष हुन्छ । अधिकमास यही जेठको ३० गते बुधबार राति २ बजेसम्म रहन्छ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । मलमासमा कामना गरेर गर्ने बिबाह, ब्रतबन्ध, रुद्री, सप्ताह गर्ने , गृह प्रबेश गर्ने लगायतका काम्यक कर्म गर्न नहुने पण्डित माधब प्रसाद शर्माले बताए ।

विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

नबबिबाहिता दम्पत्तिलाई माइतिमा बोलाएर पुरुषोत्तम नारायण र लक्ष्मीका रुपमा छोरी ज्वाईलाई मालपुवा दान दिने चलन छ । यो समयमा कहिलै नगएका मन्दिरमा जान नहुने र तिर्थाटन गर्न नहुने पनि उनले बताए । यसो गरेमा अशुभ फल प्राप्त हुनेछ ।

काम्यक कर्म अन्र्तगत पोखरी खन्ने , इनार खन्ने जस्ता कार्य पनि गर्न हुदैन । नित्यकर्म र नैमित्य कर्म भने यो समयमा गर्न हुने प्रा। डा। गौतमले स्पष्ट पारेका छन् । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या,तुलसी पुजा,हवन ,दुर्गा पुजा लगायतका नित्य कर्म गर्न मलमासको समयमा गर्न हुन्छ।

यसैगरी,अकस्मात आइपर्ने मृत्युका काज किरिया कर्म , न्वारन जस्ता नैमित्य कर्म गर्न पनि कुनै छेकथुन नहुने अध्यक्ष गौतमले बताएका छन । गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्ने उनले बताए ।

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहन्छ । किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थहरूमा उल्लेख छ । मलमास सुरु भएसंगै किर्तिपुरको मच्छेगाउमा जेठ २ गतेदेखि एक महिने मेला लाग्दैछ ।

मलमासको एक महिना मच्छेगाउमा मेला लाग्ने गरेको छ । हरेक ३२ महिनामा आउने अधिकमासमा मच्छेगाउमा रहेको मच्छेनारायणमा मेला लाग्दछ । माछाको मुखबाट निस्केका नारायणको दर्शनका लागि थुप्रै भक्तजनको भिड लाग्ने गर्दछ । यस स्थानमा गर्मीमा पानी चिसो र जाडो महिनामा पानी तातो हुने गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्