मुख्य समाचार

मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

By थाहा अनलाइन

May 17, 2018

सैघाली खबर काठमाण्डौं,३ जेठ

नेकपा एमालेले २५ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक संयुक्त रुपमा मदन आश्रित स्मृति दिवस मनाउन लागेका हुन् । एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आयोजना गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरुसमेत सहभागी भएका छन् । बिहानै एमालेको पुरानो कार्यालय बल्खुमा पुगेर तस्बिरमा माल्यार्णपण गरिएको छ । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमालेले गर्ने कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी भएका हुन् ।

२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।