२ सय ४३ स्थानीय तह बैंकविहीन



सैघाली खबर,
काठमाण्डौ ३ जेठ।
राष्ट्र बैंकका अनुसार अझै २ सय ४३ स्थानीय तहमा बैंक पुगेका छैनन् । केन्द्रीय बैंकले वैशाख मसान्तसम्म ६ सय ३७ स्थानीय तहमा बैंक पुर्‍याउन निर्देशन दिएको थियो । हाल ५ सय १० स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका छन् । मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९५ मा पहिले नै वाणिज्य बैंकका शाखा पुगिसकेका थिए । चैत दोस्रो साता यो संख्या बढेर ३ सय ९४ पुगिसकेको थियो । बाँकी २ सय ४३ स्थानीय तहमा बैंकहरूले स्वैच्छिक रूपमा शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । बाँकी थप १ सय १६ स्थानीय तहमा शाखा स्थापनाका लागि राष्ट्र बैंकले असार मसान्तसम्म समय दिएको छ ।

आवश्यक पूर्वाधार नभएकोलगायत विविध कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेपछि लक्षित सबै स्थानीय तहमा पनि बैंक पुग्न नसकेका हुन् ।

पछिल्लोपटक गत चैत १४ गते बैंकहरूलाई परिपत्र गरी ०७५ वैशाख मसान्तभित्र थप २ सय ४३ स्थानमा शाखा खोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुुसार सबै बैंकहरूले तोकिएको स्थानमा शाखा स्थापना गरेको भए गत वैशाखसम्म ६ सय ३७ स्थानीय तहमा बैंक पुग्ने थिए । यसले एकातिर छिटोभन्दा छिटो हरेक गाउँपालिकामा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारको योजना असफल भएको छ भने अर्कोतिर राष्ट्र बैंकको निर्देशन पालना भएको छैन । वैशाखसम्म के–कति स्थानीय तहमा शाखा पुगेका छन् भन्ने आधिकारिक तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छैन । निर्देशनअनुसार तोकिएका स्थानीय तहमा बैंक पुगेरपुगेनन् भनेर जिज्ञासा राख्दा राष्ट्र बैंकका प्रवक्ता एवं नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलले तथ्यांक संकलनको काम भइरहेको बताए । निर्देशनअनुसार बैंकहरूले शाखा स्थापना गरिरहेका र केहीले थप समय माग्दै राष्ट्र बैंकमा आवेदन दिएको उनले बताए ।

‘तोकिएको मितिमा शाखा स्थापना नगर्ने बैंकहरूलाई न त राष्ट्र बैंकले कारबाही गरेको छ न त स्पष्टीकरण नै सोधेको छ । निर्देशन जारी गर्दा राष्ट्र बैंकले निर्देशन पालना नगर्ने बैंकहरूलाई राष्ट्र बैंक ऐनअनुसार करबाही गर्ने बताइएको थियो । ‘तोकिएको समयभित्र शाखा स्थापना नगर्ने बैंकहरूलाई राष्ट्र बैंक ऐनअनुसार कारबाही गरिनेछ,’ राष्ट्र बैंकद्वारा गत चैतमा जारी भएको परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक १५र१५ दिनमा शाखा स्थापनामा भएको प्रगतिबारे अनिवार्य रूपमा राष्ट्र बैंकमा जानकारी दिनुपर्छ ।

स्रोतका अनुसार गत वर्ष साउनदेखि यस वर्ष वैशाखसम्म थप २ सय १४ स्थानीय तहमा शाखा स्थापना भएका छन् । ‘आउँदो असारभित्र बाँकी सबै स्थानीय तहमा शाखा स्थापना गरिसक्ने हाम्रो योजना छ, सोहीअनुरूप बैंकहरूलाई निर्देशन दिएका छौं,’ स्रोतले भन्यो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूद्वारा धमाधम शाखा स्थापना भइरहेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अत्यावश्यक पूर्वाधारहरूको कमी रहँदारहँदै पनि बैंकहरूले शाखा विस्तारलाई तीव्रता दिएका छन्,’ उनले भने, ‘मैले मात्र दुई दिनमा ११ वटा शाखा स्थापना गरी फर्केको छु ।’ तोकिएकामध्ये केही स्थानमा समस्या देखिए पनि अधिकांशमा शाखा स्थापना भइसकेको उनले दाबी गरे ।

बैंकहरूलाई स्थानीय निकायमा शाखा खोल्न प्रोत्साहन गर्न राष्ट्र बैंकले सम्बन्धित बैंकलाई सरकारी कारोबारलगायत विशेष सुविधा दिएको छ । जसमध्ये कुनै पनि शाखा नभएको स्थानीय तहमा स्थापना भई सञ्चालनमा आउने पहिलो वाणिज्य बैंकको शाखालाई स्थानीय निकायसम्बन्धी सम्पूर्ण सरकारी कारोबार सञ्चालन गर्न दिने र त्यसका लागि आवश्यक व्यवस्था केन्द्रीय बैंकले गर्ने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्