६ दिन पछि भेटिए हराएका तीन बालबालिका ।।



सैघाली खबर/रुकुम, ३ जेठ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ६ दिन अघिदेखि हराइरहेका तीन बालबालिका बिहीबार सकुशल फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–१, का उनीहरु बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् । गाउँहरुले चारैतिर खोजी गर्दा उनीहरु भेटिएको स्थानीय अमरधन पुनले बताएका छन् । उनका अनुसार भेटिएका मध्ये सात वर्षका डायमण्ड पुन र दुवै पुन बोल्न नसक्ने अवस्थामा छन् ।

६ वर्षका सुहाना पुन अलि अलि बोल्न सक्ने अवस्थामा छिन् । गएको चैत्र २९ गते घरमा कसैलाई पनि नसोधेर गाडी हेर्न र आफन्तलाई लिन भन्दै पिपलटुङतर्फ आएका उनीहरु गरघाटबाट हराएका थिए । गरघाटसम्म पुगेर घर मैकोटतर्फ फर्किनुपर्ने उनीहरु बाटो बिराएर रन्माको वनतिर लागेको बताइएको छ । उनीहरुसँगै हराएका ६ वर्षका काल्या पुन भने ३० गते नै भेटिएका थिए ।

बाटो बिराएर मैकोटबाट गरघाट हुँदै रन्माको वनमा पुगेका बच्चाहरु ६ दिनपछि बिहीबार बिहान रुखको फेदमुनि पल्टिएको अवस्थामा फेला परेका हुन् । रन्माको भिरै भिर भएर हिउँचोई पुगेको र पछि फर्किन नसकेको बालिका सुहानाले गाउँलेलाई बताएको स्थानीय मरिचमान पुनले जानकारी दिएका छन् । उनीहरुलाई भोक र प्यासले सिथिल भएको अवस्थामा फेला पारिएको थियो ।

हराएका बालबालिकाहरुलाई ६ दिनपछि फेला पार्दा उनीहरुका परिवार खुशी भएका छन् । सकुशल भेटाउने आश मारिसकेका परिवारजन छोरा छोरीलाई सकुशल फेला पारेपछि हर्षित भएका हुन् । जंगल त्यसमा पनि हिउँले ढाकेको ठाउँमा ६ दिनपछि बालबालिकालाई सकुशलै फेला पारिएपछि गाउँले समेत खुशी भएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्