घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका ।।



सैघाली खबर/बुटवल, ३ जेठ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेको छ । गोली प्रहार भएको बुधबार दिउँसो फोटो माग्ने निहुँमा छोरा सन्दीप धवल एक अपरिचित युवकसँगै मृतक बाबुले काम गर्ने ठाउँमा आएको र साँझ आक्रमण हुनुले निजकै संलग्नता अनुमान गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । निज सन्दीप मृतक धवलका जेठी श्रीमतीका एकमात्र छोरा हुन् ।

धवलले कान्छी श्रीमती विवाह गरेपछि जेठी श्रीमती भारतको सिद्धार्थनगर नौतनहवा नजिकै आफन्तकोमा र छोरा सन्दीप भारतको गोरखपुर नजिकै पिपिगञ्ज भन्ने ठाउँमा मावलीको घरमा बस्दै आएका थिए । बुधबार मणिग्राममा बाबुसँगको भेटपछि फर्किएर भारतस्थित मामाघर पुगे पनि हाल सम्पर्क्विहीन रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्