वडामा पुगेनन् अधिकार सिंहदरवार खोज्दै नागरिक



 

दिपक बोहरा,तुलसीपुर ४ जेठ ।

मुलुक नयाँ संरचनामा गएसंगै सबै सेवाहरु वडाबाटै प्रदान हुन्छन्, भन्ने कुराले आम नागरिकमा उत्साह थपेको थियो । नयाँ संरचना अनुसार भएको स्थानीय तहको निर्बाचनमा पनि जनप्रतिनिधिलाई चुनाबी नाराका लागि खुराक नै बनेको थियो । ‘सिंहदरबारका अधिकार घरआँगणमा’ यो नाराले स्थानीय निर्बाचनको बेला निकै चर्चा पायो । आम नागरिक पनि सबै अधिकार वडाबाटै हुने आशाले उत्साहित भएका थिए । मुलुकले नयाँ संरचना अनुसार स्थानीय तहको पहिलो अभ्यास सुरु गरेसंगै वडाबाटै सबै अधिकार प्रदान गर्छन्, भन्ने पनि बिश्वास थियो । तर स्थानीय तहले जनप्रतिनिधि पाएको एक बर्ष पुग्नै लाग्दा पनि आम नागरिकले घरआँगनमा सिंहदरवारको अनुभूति गर्न पाएका छैनन् । निर्बाचनका बेला चर्चा कमाएको ‘सिंहदरवारका अधिकार घरआँगणमा’ भन्ने नारा भने नारामै सिमित भएको छ ।

अहिले वडाले पाउने भनेका अधिकार पनि नपाएको वडाका प्रतिनिधिहरुको भनाई छ । वडाले अहिले पञ्जिकरण बाहेक अन्य कुनै पनि काम गर्ने अधिकार नआएको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १ का अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।‘चुनाबको समयमा नारा बनाईएको जस्तो घरआगँनमा सिंहदरवार आउन सकेको छैन्’ उनले भने ‘अहिले वडाबाट पञ्जिकरणको काम अधिकार मात्रै वडामा आएको छ ।’ वडामा आउने भनेका सबै अधिकार नआउदा आम सेवाग्राहीले सिंहदरवारका अधिकार गाउँमा आएको आभास नगरेको बताए ।

‘निर्बाचनको बेला सिंहदरवार गाउँघरमै आउछ् भन्ने अपेक्षा लिएका थियौ’ तुलसीपुर १ का मोतिलाल चौधरीले भने‘तर अहिले सबै सेवा पाउन सकेका छैनौं ।’ अहिले सिंहदरवारको आभास गर्न नपाएको उनको भनाई थियो ।

नयाँ अभ्यास भएकाले पनि नीति निर्माण नभएकै कारणले अझै पनि वडामा सबै अधिकार आउन नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १८ का अध्यक्ष माधव वलीले बताए ।‘सबै अधिकार अझै वडामा गएका छैनन्’ उनले भने ‘तर नयाँ अभ्यास भएकाले वडामा अधिकार लिने प्रक्रियामै छौं ।’ आउदो आर्थिक बर्ष देखि नगरसभाको बैठकबाट वडाका केही अधिकार लिने उनले बताए । अहिले दाङका कुनै पनि वडाहरुले सम्पूर्ण अधिकारहरु प्रदान गर्न सकिरहेका छैनन् । जसले गर्दा पनि आम नागरिकले स्थानीय तहको सहज सेवाको उनुभूति गर्न पाएका छैनन् ।

अझै पनि सेवाग्राहीहरु सेवा लिन स्थानीय तहको केन्द्रमा पुग्नुपर्ने बाध्यता छ । अर्को तर्फ समयमै कर्मचारी नपुग्नुले पनि समस्या भएको जनप्रतिनिधिहरुले बताएका छन् । दाङका एक सय वडा मध्य ३० वटा वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । यसले वडाका काम पनि प्रभाबित हुने गरेका छन् । खास गरि ग्रामिण भेगका वडारुमा वडा सबिच पुग्न सकेका छैनन् । अझै वडाहरुका आफ्नो स्वामित्वको भवन छैन्, जसले गर्दा दुई वा दुई भन्दा बढि वडाहरुले एउटै कार्यालयबाट सेवा प्रदान गरिरहेका छन् । अहिले आम नागरिकले सिंह आएपनि दरवार आउन नसकेको भन्दै ब्याङ्ग्य गर्न थालेका छन् । जनप्रतिनिधिको काम गर्ने शैलीप्रति पनि सेवा ग्राही सन्तुष्ट छैनन् । बिकास निर्माणका लागि बजेट बिनियोजन गर्दा पनि नाताबाद, कृपाबाद लागु हुने गरेको आरोप समेत लगाउने गरेका छन् । बिकास निर्माणका लागि उपभोक्त समिति निर्माण गर्दा आसेपासेलाई मात्रै समेटेर समिति बनाउने गरेको गुनसो आउने गरेका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्