सावधान ! डरलाग्दो छ लुपस रोग, समयमै सतर्कता जरुरी



सैघाली खबर,
रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले नेपालमै पहिलोपटक लुपसका रोगीहरूको सर्वेक्षण सुरु गर्ने जनाएको छ । विश्व लुपस दिवसका अवसर सेन्टरद्वारा आयोजित ‘जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै बाथरोग विशेषज्ञ डा। विनित वैद्यले नेपालमा लुपस रोगीको यकिन तथ्यांक पत्ता लगाउन सामुदायिक स्तरमै यसको सर्वेक्षण सुरु गर्न लागिएको बताएका छन् ।

वैद्यले भने,’ केही वर्ष यता नेपालीहरूमा देखिदै गएको यस रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेन्टरले वडास्तरमै यसको सर्वेक्षण गर्ने योजना बनाएको छ । उक्त सर्वेक्षणबाट आएको नतिजाको आधारमा मात्र नेपालमा लुपस रोगको यकिन तथ्यांकबारे बताउन सकिन्छ ।’

 

 

नेपालमा लुपस रोगीहरू कति छन् भन्ने यकिन जानकारी छैन । विश्वमा प्रत्येक एक लाख व्यक्तिमा २० जना व्यक्तिलाई यो रोग लाग्ने गर्छ । यस रोगकै कारण विश्वमा करिब ५० लाख व्यक्ति प्रभावित छन् । यो रोग पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । विशेषगरी १५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा देखिने यो रोग लागेमा प्रजनन उमेर समूहका महिलामा निःसन्तानपनको समस्या देखिने गर्छ ।

विशेषगरी, रोग प्रतिरोधात्मक क्षमतामा आउने अनियमिताका कारण हुने लुपस रोगबारे जनचेतना दिने उद्देश्यले नै प्रत्येक वर्षको मार्च १० तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । लुपस रोग कुनै पनि उमेरमा कसैलाई पनि हुनसक्छ भन्ने सन्देश दिने उद्देश्यले नेशनल बाथरोग सेन्टरले विहिबार विशेष कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको हो ।

हलिउडकी चर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज लुपस रोगबाट ग्रसित भएको समाचार बाहिर आएपछि सन् २०१५ बाट यस रोगले चर्चा पाएको थियो ।

लुपस रोग र यसका लक्षण रु

यो रोग अटोइम्युन डिजिज हो । शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ त्यसबेला अटो इम्युन डिजिज सुरु हुने गर्छ । यो विशेषगरी युवा अवस्थामा तथा महिलाहरूमा सुरु भई लामो समय रहने गर्छ । यो रोग पुरुषको तुलनामा महिलाहरूमा नौ गुणा बढी हुने गर्छ । यो रोग लागेमा आजीवन औषधीको सेवन गर्नु पर्दछ ।

यो रोग लागेमा ज्वरो आउने, शरीर कमजोर हुने, तौल घट्ने लगायतका लक्षणहरू पर्दछन् ।

त्यस्तै हात जोर्नी दुख्ने, मुखमा पुतली आकारको दाग आउने, चिलाउने, खटिरा आउने, सूर्यको प्रकाशमा बाहिर निस्कन गार्‍हो हुने, कपाल झर्ने, मिर्गौला सुन्निने, रक्तकोषिकाहरू कमी हुने, स्वस्थ रक्तकोषिकाहरू नष्ट हुँदै जाने, नसा सम्बन्धी रोग लाग्ने, आँखा सुख्खा एवं रातो हुने, आँखा सम्बन्धी रोग लाग्ने तथा फोक्सोमा पानी जम्ने गर्दछ ।

लुपस रोगको उपचार विधि

यस रोगको उपचार व्यक्ति अनुसार फरक हुने गर्दछ । यो रोगले कुन अंगलाई कसरी असर गर्छ भन्ने थाहा हुँदैन र जुन अंगलाई असर गर्छ, त्यही अनुसार रोगको उपचार गरिने हुँदा यस रोग लागेको शंका लागेमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्न जरुरी छ ।

ध्यान दिनु पर्ने कुरा

(यो रोग लागेमा विरामीहरूले घाममा जानु हुँदैन । जानै परेमा सन्सक्रिमको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउनु पर्दछ ।

(सक्रिय जीवनका लागि नियमित व्यायाम गर्न जरुरी छ ।

(यो रोग लागेका विरामीलाई निमोनिया तथा फ्लू विरुद्धको खोप लगाउनु पर्दछ ।

(चिकित्सकको सल्लाह अनुसार समय समयमा जाँच गराउनु पर्दछ ।

(यो रोग लागेका महिलाहरूमा गर्भपतन हुने सम्भावना अधिक हुने भएकाले गर्भवती महिलाहरूलाई लुपस रोग नियन्त्रणमा आएको छ महिनापछि मात्र गर्भवती हुन सल्लाह दिइन्छ । साथै, एक पटक गर्भवती भइसकेपछि नियमित चेकजाँच गराउनुका साथै समय समयमा औषधीको सेवन गर्नुपर्ने हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्