३३ किलो सुन लुट्ने योजना राप्रपा नेता भुजुङको



सैघाली खबर,
काठमाडौं, ४ जेठ । फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले बनाएको खुलेको छ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो।

‘सुन भुजुङकै समूहले लुटेको अनुसन्धानबाट देखिएको छ,’ समिति स्रोतले सेतोपाटीसँग भन्यो।

सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन्।

‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन्।

स्रोतका अनुसार विमानस्थलमा लोडरको काम गर्ने सानु वन भुजुङका विश्वास पात्र थिए। सानुले कहिले, कति सुन आयो सबै भुजुङलाई रिर्पोट गर्थे। सो सुन आउनपूर्व नै भुजुुङलाई सानुले खबर गरिसकेका थिए। सानुको सूचनाका आधारमै भुजुङले सुन लुट्ने योजना बनाए।

गुरुङले सुन लुट्न पठाएका युवा ठमेलका डान्सबारमा बाउन्सरको काम गर्थे।

५जनाले अनामनगरमा सानुलाई रोके। ‘हामी गौशालाको प्रहरी हो, सुन कहाँ छ,’ भन्दै उनीहरूले वनसँग भएको सुन लुटे।

‘तँ गौशाला प्रहरी चौकीमा आउनू’ भनेर उनीहरू हिँडे।

सुन लुटेको केही दिनपछि ती युवा थाइल्यान्ड घुम्न गएको स्रोतको दाबी छ।

डान्सबारमा सँगै काम गरेका एक युवाका अनुसार सुन लुटेपछि उनीहरू काममा आउन छोडे।

‘कति बाउन्सर बन्नु, फ्रेस हुन थाइल्यान्ड जानुपर्छ भन्थे,’ ती युवाले सेतोपाटीसँग भने, ‘थाइल्यान्डबाट फर्किएपछि पहिलाका बाउन्सर केटाहरू बारमा गएर टिप्स दिएर फर्कन्छन्।

सुन लुटिनु केही दिनअघि ती युवाहरू अब काम होइन, गेम खेल्नुपर्छ। पैसा त कति हो कति भन्दै गफ गर्ने गरेको ती युवाले सुनाए।

पुण्यप्रसादको बयानअनुसार सुन लुटिए पछि गोरेसँग भुजुङ टाढिए। गोरेले भेट्न खोजे पनि भुजुङले आनाकानी गरे।

‘गोरेले भुजुङलाई पनि फोन गरेर भेट्न बोलाएका थिए तर भुजुङ गुरुङ भन्ने मान्छेले आउन आलटाल गथ्र्यो र आउँदैन थियो’, अनुसन्धान समितिमा लामाले दिएको बयानमा भनेका छन्,‘त्यस्तैमा एक दिन सोध्ने क्रममा भुजुङ गुरुङको सालो डेबिटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेलाई सुनको बारेमा चुडामणि उप्रेतीका मानिसहरूले सोधपुछ गर्दा निजले योसम्बन्धी मेरो भेना भुजुङ गुरुङलाई नै थाहा हुनुपर्छ भन्ने जवाफ दिएको थियो।’

भरियाहरूले आफ्नो नाम पोलेको थाहा पाइपछि ‘गोरे’सँग भुजुङ टाढिएका थिए ।

गोरेले यातना दिने क्रममा अधिकांश भरियाले ‘सुन भुजुङ गुरुङको मान्छेले लुटेकोे’ बताएका थिए।

गोरेले त्यसको भिडियो बनाएका थिए। गोरेले बनाएको त्यो भिडियो बाहिरिएको छ।

विमानस्थलको ट्यांकरमा ठोकिएर रहस्यमय मृत्यु भएका सानु वनले पनि आफूलाई गुरुङका मान्छेले सुन लुटेको बताएको पुण्यप्रसादको बयान छ।

स्रोतका अनुसार सुन लुटिएको दिन विराटनगरमा रहेका सनम प्रेमिका भेट्न सुटुक्क काठमाडौं आए। यो कुरा उनले गोरेलाई भनेनन् र गोरेले सुन लुट्नै आएको भन्ने ठाने र उनलाई यातना दिए।

गोरेले कुरा बाहिर लिक हुन सक्ने भएकाले सनमलाई ती युवतीसँग सम्पर्क नराख्न चेतावनी दिएका थिए। सनम गोरेलाई नभनिकनै प्रेमिकासँग भेट्थे।

सुन लुट्न सनमको हात रहेको भन्दै गोरे समूहले शाक्यलाई मोरङको जंगलमा लगेर करेन्ट लगाएर यातना दिएको थिए।

यातनाकै क्रममा शाक्यको मृत्यु भएको थियो।

समितिको अनुसन्धानबाट लुटिएको ३३ किलो सुन भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल भएको पनि खुलेको छ।   setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्