नेपालमा १२ विपद : वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति ।।



सैघाली खबर/काठमाण्डौँ, ४ जेठ।
नेपालमा बषैनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण बर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा बर्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७ सय ७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपत्तिकै कारण बर्षेनी एक अर्ब ३१ करोड बराबरको भौतिक क्षति हुने गरेको छ भने एक लाख ३२ हजार १ सय ६१ घरपरिवार प्रभावित हुने गरेका छन् । ‘आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरोलगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले नेपालमा वर्र्षेनी विपद् निम्त्याउने गरेको छ’, प्रमुख थापाले भने, “बर्षेनी ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति हुने गरेको छ, यसको न्यूनीकरणको लागि विपद् व्यवस्थानबारे सर्वसाधारणमा जानकारी हुन आवश्यक छ ।”

पछिल्लो चार दशकमा नेपालमा २२ हजार २ सय १६ वटा प्राकृतिक विपत्तिका घटना भएको प्रमुख थापाले बताए । उक्त घटना परी ७९ हजार ७ सय २ जना घाइते भएका थिए भने ५९ लाख ४७ हजार २६८ घरपरिवार प्रभावित भएको संस्थाको तथ्यांक छ । संस्थाको तथ्यांकमा २०७२ सालमा आएको महाभूकम्पको क्षति पनि समावेश गरिएको छ । विपद्बाट पाँच अर्ब ९१ करोड ९८ लाख ५५ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको संस्थाको तथ्यांक छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्