आर्थिक

उत्पादन बगरको, व्यापार राजमार्गको ।।

By थाहा अनलाइन

May 18, 2018

सैघाली खबर/कञ्चनपुर, ४ जेठ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्ने गरेको छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिलो बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएका छन् । बुबा र दाइले परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताएका छन् ।

राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन् । उनीहरु बिक्रीका लागि फड् राखेर बस्दैआएका छन् । यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त हुन्छिन् । छोराछोरीसमेत बिक्रीमा सघाइरहेको बताउँदै उनले गत चैत महिनायता ५० हजार आम्दानी भएको बताएकि छिन् । राजमार्ग छेउमै फड् राखेर व्यापार गर्दै आएकि राना अन्य मौसममा भने डकर्मीको काममा व्यस्त हुने गर्छिन् ।

दैनिक दुई हजारभन्दा बढीको बिक्री हुने गरेको र बगरको कमाइले बालबालिकाको लालनपालनदेखि घरको नून तेलसम्मको खर्च धानेको रानाको भनाइ छ । बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताएकि छिन् । आफू राजमार्ग छेउमा व्यापारका लागि आउनुअघि तरकारी गाउँ गाउँ पुगेर बिक्री गर्ने गरेको रानाले बताएकि छिन् । रानाका अनुसार उत्पादित वस्तुको खपतका लागि बजारको समस्या छैन । यहाँको तरकारी काठमाडौँसम्म बिक्री हुने गरेकि रानाले बताईन् ।

तीन महिनादेखि पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिकास्थित चौधर नदी छेउमा सञ्जिता चौधरी तरकारी बिक्री गर्दै आएकि छिन् । बेदकोट नगरपालिका–१० हरपालकी चौधरीले दैनिक तीन हजारसम्मको तरकारी, खरभुजा र काँक्रा बिक्री गर्छिन् । उनले हालसम्मको कमाइमध्ये ३० हजार बैंकमा जम्मा गरेको बताएकि छिन् ।।