आज धान दिवस, प्रधानमन्त्रीको शुभकामना



असार ,१५

deuba
आज अन्तर्राष्ट्रिय किसान दिवस अर्थात राष्ट्रिय धान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा आज सरकार, गैरसरकारी संस्था र दलका कृषि समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् । नेपाली किसानले आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् । नेपालले २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउँदै आएको छ । यस वर्ष १४औँ धान दिवसका अवसरमा प्रधानमन्त्रीले पनि शुभकामना दिनु भएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । आज नेपालीले दही चिउरा खाएर खुसियाली मनाउने परम्परा पनि छ । धान रोपाइँको चटारोमा रहेका किसानले खेतमै दहीच्यूरा खाएर रोपाइँ गर्ने चलन छ । आयुर्वेदमा दहीलाई पाचन प्रणाली सक्रिय गराउने खाद्यवस्तुका रूपमा लिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ । आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रवद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्