निर्माणमा ढिलाइ गर्ने ठेकेदारले अब हर्जना तिर्नुपर्ने ।।



सैघाली खबर/काठमाण्डौँ, ६ जेठ।
समयमै प्रसारणलाइन निर्माण नभएका कारण जलविद्युत आयोजनाको विद्युत् खेर जाने अवस्था आयो भने अहिले विद्युत प्राधिकरणले त्यस्ता आयोजनालाई पेनाल्टी तिर्नुपर्छ । विद्युत् प्राधिकरणले त्यस्तो क्षतिपुर्ति बापतको रकम अब भने प्रसारणलाइन समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारबाट असुलेर जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनीलाई दिने भएको छ । सोलु करिडोर समयमै निर्माण नभएका कारण सोलु खोलामा निर्माण भएका आयोजनाहरुबाट विद्युत खेर जाने देखिएको छ ।

सोलु करिडोर प्रसारणलाइनमा विद्युत जोड्ने गरि अहिले सोलु खोलामा निजी क्षेत्रका २ हजार १७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए)मा छ ।

समयमै सोलु करिडोरको निर्माण अघि नबढाएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको टोली तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको स्थलगत निरीक्षण गर्न गएको थियो । निर्माण स्थलमा पुगेको घिसिङले भने ‘प्रसारणलाइन निर्माण समयमै सकिएन भने प्राधिकरणले जलविद्युत आयोजनालाई दिनुपर्ने क्षतीपुर्ति प्रसारणलाइन निर्माण कम्पनीबाटै उठाउने छ ।’ नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ ।

तिंला(ओखलढुंगा, उदयपुर, मिर्चैया, सिराहा) ९० किलोमिटर प्रसारण लाइन आयोजनाले ३०३ टावर निर्माण गर्नु पर्छ । त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको छ । ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सब स्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । ‘प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु, तपाईहरु साइटमा काम गर्नुहोस्’ उनले भने ‘निर्माण प्रगतिको नियमित अनुगमन हुन्छ, समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनु पर्छ ।’

प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३र११ केभीको सव(स्टेसन बनाइरहेको छ । यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवक्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारी बताउँछन् ।

साथै प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन र्पुयाउने भएको छ । कार्यकारी निर्देशक घिसिङले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन र्पुयाउने गरी काम भइरहेको जानकारी दिएका छन् । अहिले ओखलढुंगासम्म मात्रै राष्ट्रिय प्रसारण लाइन पुगेको छ । साथै प्राधिकरणले अहिले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारण लाइन तानिरहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्