रातिको समयमा मोवाइल चलाउँदा तनाव र एकलोपनको समस्या



सैघाली खबर
काठमाडौं,७ जेठ
करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो । यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्