समाचार

नेकपा केन्द्रीय समितिले आज पूर्णता पाउने

By थाहा अनलाइन

May 21, 2018

सैघाली खबर काठमाडौं,७ जेठ

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णता पाउने भएको छ । हिजो नै पूर्णता पाउने बताएपनि तत्कालीन माओवादी केन्द्रमा रहेका नेताहरुको नाम टुङ्गो लगाउन नसकेपछि आजमात्रै पूर्ण दिने तयारी छ । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आज कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीका केही नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।

नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागि सकेको र छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिनुभयो । एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । ४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् ।

४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीन एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतः एकीकृत पार्टीको स्थायी कमिटी सदस्य बनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यका लागि एमालेका तत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्य हुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।