सरकारको ध्यान अरुणतिर, महाकालीमा तटबन्ध नबन्दा जनता मारमा



भीमदत्तनगर, ७ जेठ

रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माणको काम प्रभावित बनेको छ ।

सिँचाइ मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग रु ४५ करोड माग गरेको छ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको हो । केही समयअघि रु दुई करोड निकासा भएको जानकारी दिँदै जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ भीमदत्तनगरका प्रमुख प्रचण्डदेव विष्टले रकम अभावका कारण महाकाली नदीमा तटबन्ध निर्माण कार्य प्रभावित बनेको बताए ।

“महाकाली नदीमा साढे तीन किलोमिटर तटबन्धका लागि रु ६० करोडको ठेक्का सम्झौता भएको थियो ।” तटबन्ध कार्यालयका प्रमुख विष्टले भने –“निर्माण कम्पनीलाई दुई चरणमा रु १५ करोड दिएपनि बाँकी रकम समयमा नआउँदा कामले गति लिन सकेन ।”

थप बजेटकालागि अर्थमन्त्रालयमा रु ४५ करोड माग गरेर फायल पठाइएको भएपनि अहिलेसम्म निकासा हुन नसकेको उनले जानकारी दिए ।
“महाकाली नदीको वारी भुजेला, ओदाली, पिपरिया, पारीकापनि विभिन्न स्थान निकै जोखिमयुक्त छन् ।” उनले भने– मन्त्रालय, विभागबाट पनि त्यसको अनुगमन भएर ठेक्का अगाडि बढाइएको भए पनि बजेट आउन सकेको छैन ।
यसअघि पनि वर्षात्का बेला जोखिमयुक्त स्थानमा सेना, प्रहरी र स्थानीयको सहयोगमा अस्थायी तटबन्ध बनाएर क्षति टारिएको थियो ।

कञ्चनपुरका तीन वटा र कैलालीको एउटा गरी चार वटा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्दै आइरहेको जनताको तटबन्ध कार्यालयले हाल कञ्चनपुरको महाकाली नदी, दोदा र मोहना नदीका साथै कैलालीको खुटिया नदीमा तटबन्ध निर्माण कार्य गरिरहेको छ ।

मोहना नदी कटान नियन्त्रणकालागि जनताको तटबन्ध कार्यालयले रु चार अर्बको डिपिआर तयार गरेर माथिल्लो निकायमा पेश गरेको छ ।
चालू आवमा मोहनामा एक किलोमिटर तटबन्ध बन्दैछ । कैलालीको खुटिया नदीमापनि हालसम्म रु चार करोड खर्चेर एक किलोमिटर लामो तटबन्ध निर्माण गरेर नदी छेउको बस्ती सुरक्षित गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्