सैघाली खबर, घोराही, ७ जेठ । पेशागत महासंघ नेपाल दाङ शाखाले पेशागत महासंघ नेपालको २३ औं स्थापना दिवस बर्तमान अवस्थामा पेशाकर्मीको भूमिका विषय विचार गोष्ठि आयोजना गरेर मनाएको छ । पेशागत महासंघ दाङका कार्यवाहक अध्यक्ष शेरवादुर केसीको अध्यक्षता तथा पेशागत महासंघका इञ्चार्ज शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नेहरुले बर्तमान अवस्थमा पेशाकमीको भूमिका अझै बढेर गएको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले नेपालमा तीन तहका सरकारलाई सफल गराउनका लागि पेशाकर्मीको काँधमा जिम्मेवारी आएको बताउनुभयो । स्थायी सरकारका रुपमा रहने पेशागत क्षेत्रमा रहेकाहरुले नै सरकारलाई सफल गराउन सक्ने धारणा राख्दै अधिकारीले सरकारले ल्याएको समृद्धिको योजनालाई साथ दिन आग्रह गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि पेशाकर्मीहरुले पनि महत्वपूर्ण भूमिका खेलको भन्दै पेशाकर्मीहरुलाई अझै बढी इमान्दारिताका साथ काममा जुट्न आग्रह गर्नुभयो । पेशाकर्मीहरु एक भएर अघि बढ्न सकेको खण्डमा अधिकार प्राप्तीका लागि सजिलो हुने धारणा पनि उहाँको थियो । स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा पेशागत महासंघ नेपालका प्रदेश प्रतिनिधि सानुनारायण अधिकारी, नपाल निवृत्त राष्ट्रसेवक संगठन दाङका अध्यक्ष विकास गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत लगायतले बोल्नुभएको थियो । पेशागत महासंघ दाङकी सचिव रमा आचार्यले संचालन गर्नुभएको कार्यक्रममा सदस्य गंगाराम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।