एकल बहुमत प्राप्त कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम आज ।।



सैघाली खबर/काठमाडौँ, ७ जेठ।
नेपालको इतिहासमै पहिलो पटक एकल बहुमत प्राप्त कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम, वाम गठबन्धनको चुनावी घोषणा र प्रधानमन्त्री केपी शर्मा ओलीको रारा सम्बोधनमा आधारित भएर आउँदैछ । सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकि हुन् । चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेको छ । संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछन् ।

संघीय संसद् सचिवालयले संसद् भवन अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न्न ४ बजे राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । राष्ट्रपतिबाट हुने संघीय संसद्को सम्बोधन कार्यक्रममा सहभागी हुन आउने व्यक्तिको स्वागत तथा व्यवस्थापनका लागि कार्य विभाजन गरी कर्मचारी खटाइएको छ ।

उक्त विशेष कार्यक्रममा सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ । नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको बताइएको छ । संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले नीति तथा कार्यक्रम प्रस्तुत भई सम्बोधन गर्ने कार्यका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्