साढे ३३ किलो सुन प्रकरणको छानबिन समितिको म्याद थपियो



सैघाली खबर,
काठमाडौँ, ७ जेठ । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या छानबिन गर्न गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीको म्याद थप भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा समितिको म्याद २५ दिन थपेको हो ।

गृहमन्त्री रामबहादुर थापासहितले समितिको म्याद २५ दिन थप गर्नुपर्ने निष्कर्ष निकाल्दै पठाएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । अनुसन्धानका केही गम्भीर पक्ष अधुरै रहेकाले त्यसलाई पूरा गर्न थप समय आवश्यक देखिएपछि समय थप गरिएको छ । सरकारले दिएको निर्देशन बमोजिम कसैको दबाबमा नपरी समितिले स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक तथ्य आधारित भएर छानबिन गर्ने समिति स्रोतले जनाएको छ ।

२०७४ चैत १९ गते गठन भएको समितिलाई यसअघि ४५ दिनको कार्यादेश दिएको थियो । समितिको शनिबार मध्यरातदेखि समयावधी सकिएको थियो ।समितिले साढे ३३ केजी सुन प्रकरणसँग जोडिएका प्रहरीसहित ३० जना पक्राउ गरी बयान लिइसकेको छ ।

पक्राउ परेकासहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिस गरेको थियो । उनीहरूको मुद्दामा मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सुन तस्करी र शाक्य हत्या प्रकरणमा आरोपितका कानुन व्यवसायीले बहस लम्ब्याउँदै लगेपछि न्यायाधीशले हस्तक्षेप गर्दै छिटो सक्न दबाब बढाएका छन् ।

जिल्ला न्यायाधीश नारायाणप्रसाद शर्माको इजलासमा गत आइतबारदेखि पक्षका कानुन व्यवसायीको बहस सुरु भएको थियो । एक हप्ताको समयमा आधामात्र कानुन व्यवसायीले बहस सकेपछि न्यायाधीश शर्माले उनीहरुलाई मंगलबारसम्मको समयसीमा दिएका छन् ।

हालसम्म ५३ जना कानुन व्यवसायीले बहस गरेको र अझै सोही संख्यामा कानुन व्यवसायीले इच्छा देखाएपछि न्यायाधीश शर्माले बहस छिटो सक्न प्रतिवादीका कानुन व्यवसायीहरुलाई दबाब दिँदै समय तोकेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्