तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभा सम्पन्न



 

दाङ ७ जेठ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको वैठक समापन भएको छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको नगरसभाको वैठकले प्रशासकीय कार्यविधि नियमित गर्न वनेको विधेयक २०७५, न्यायिक समितिले उजुरी कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र सहकारी विधेयक २०७५ पारित गरेको प्रवत्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।

पारित प्रशासकीय कार्यविधि अनुसार तुलसीपुर उपमहानगरपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनुपर्ने कार्यविधि नियमित गर्नको निमित्त आवश्यक नियम वनाउने बाटो खुलेको छ । विधेयकमा कार्यविधि र कानुन वनाउँदा संघीय तथा प्रदेश कानुन बमोजिम स्थानीय तहको क्षेत्राधिकार पर्ने विषयमा मात्र कानुन वनाउन पाउने कुरा उल्लेख गरिएको छ । यसैविच पारित भएको सहकारी विधेयकमा सहकारी संस्था गठनका लागि कम्तीमा ३० जना नेपाली नागरिकहरु आपसमा मिली विषयगत वा वहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्ने कुरा उल्लेख गरिएको छ ।

विधेयकमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा त्यस्ता सरकार वा तहको अनुदान वा स्वामित्वमा सञ्चालित विद्यालय, विश्वविद्यालय वा संगठित संस्थामा क्रियाशिल व्यक्तिहरुले जतिसुकै संख्या भएपनि सहकारी संस्था स्थापना गरिने कुरा उल्लेख गरिएको छ । यसैगरी वचत तथा ऋणको मुख्य कारोवार गर्ने संस्थाको हकमा एक वडा र अन्य संस्थाको हकमा तिनवटा वडासम्म कार्यक्षेत्र तोकिने उल्लेख गरिएको छ । यसैगरि विधेयकमा सहकारी संस्थाको विषयगत वर्गिकरण समेत गरिएको छ ।

 

विधेयकमा उल्लेख गरे वमोजिम उत्पादक संस्था, उपभोक्ता संस्था, श्रमिक संस्था, बहुउद्देश्यीय संस्था लगायतका विषयगत सहकारी खोल्न सकिने पनि उल्लेख छ । कार्यविधिमा संस्थाको नाममा सहकारी र अन्त्यमा लिमिटेड लेख्नुपर्ने कुरा पनि राखिएको छ । सहकारी संस्थाले बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा वढि नहुनुपर्ने कुरा समेत उल्लेख गरिएको छ । त्यस्तै न्यायीक समिति सम्वन्धि ऐनले पनि न्यायिक समितिलाई प्रभावकारी वनाउने विभिन्न कुरा उल्लेख गरिएको छ । दोस्रो नगरसभाको वैठकको आरम्भ जेठ २३ गते भएको थियो । सभाको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्