‘कराते म्यान हुँ’ भन्दै सेवाग्राहिको मुख, पेट र पिठ्यूँमा किक हान्न पाईन्छ र ?



 

सैघाली खबर/जनकपुर, ७ जेठ।
जनकपुर यातायात व्यवस्था कार्यालयका एक कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन् । कार्यालयमा कामका लागि आएका महोत्तरीको भंगहा नगरपालिका –४, का २२ वर्षीय जगदीश महतोलाई नायव सुब्बा राकेश यादवले कुटपिट गरेका हुन् । महतोले आफ्नो भौचर साटिएको भन्दै कार्यालयको ८ नं. कोठाको ढोका ढकढकाउँदा नासु यादवले हात, खुट्टा र मुक्काले निर्घात कुटपिट गरेकोको पीडित महतोको भनाई छ । नासुको कुटाईबाट घाइते भएका महतोको गालामा तीन वटा टाँका लागेको छ । अहिले महतोको उपचार जनकपुर अस्पतालमा भैरहको छ ।

पीडित महतोका अनुसार यसरी भयो घटना…………
म मोटरसाइकलको लाइसेन्सको निवेदन दर्ता गराएर भौचर कटाउन बिहान ७ बजेदेखि लाममा बसेको थिए । दिउँसो २ बजे मात्र भौचर बुझाउन सफल भएँ । तर भित्रबाट कर्मचारीले अर्कै नामको भौचर दिएपछि तनावमा परेँ । र पुनः साटिएको भौचर लिन जाँदा भीडभाडको कारण लाममा कसैले छिर्न दिएनन् । त्यसपछि म कोठा नं. २ मा बस्ने कर्मचारीसँग गुनासो गर्न पुगेँ ।

त्यहाँका कर्मचारीले तपाईँको भौचरमा मोबाइल नम्बर छैन । अब एउटै विकल्प छ अब अर्कै भौचर भर्नुपर्छ भनेपछि आफू भोकै प्यासै कहाँ भौचर भर्न फेरि लाइन लाग्न जाउँ भनेर तनावमा परेँ । त्यसपछि भौचर साटिएकै कोठा नं. ८ मा आफ्नो भौचर लिन बन्द कोठाको ढोका दुई तीन पटक ढकढकाएँ । भित्रबाट नासु राकेश यादव ढोका खोलेर निस्किएर एकाएक निर्घात कुटपिट गर्न थाले । मलाई समातेर भित्र कोठामा थुनेर झनै कुट्न खोजे । म गुहार माग्दै बाहिर भाग्न खोजिरहेको थिएँ ।

कुट्ने कर्मचारी राकेश यादव आफू ‘कराते म्यान हुँ’ भन्दै मुख, पेट, पिठ्यूँमा किक हान्न थाले । म बिहानैदेखि भोको भएको कारण झनै निर्घात कुटपिटले बेहोस् भएँ । त्यसपछि मेरो एकजना साथी र प्रहरीले जनकपुर अञ्चल अस्पताल र्पुयाए । आफू ढोकामा जोडजोडले हानेको र ढोका भाँचेको कुरा झुटो भएको र ढोका भाँचेको आरोप लागाउँदै कर्मचारीले आफूलाई निर्घात कुटपिट गरेको सेवाग्राही महतोको भनाई छ । निर्घात कुटपिट गर्ने कर्मचारीलाई कारवाही गर्न पीडीत महतोले प्रशासनसँग माग गरेका छन् ।

आवेशमा कुटेँ : नासु यादव
एउटै कोठामै काम गर्ने कर्मचारीहरुले नासु यादवको बचाउ गर्दै सेवाग्राही महतोले गाली गर्दै आफैले ढोका तोडेपछि लडेको र मुखमा चोट लागेको दावी गरेका छन् । नासु आफैले एक थप्पड पनि नहिर्काएको कर्मचारीहरुको दावी छ । तर कुटपिटको आरोपमा लागेका नायव सुब्बा राकेश यादवले महतोले ढोका भाँचेको र गालीगलौज गरेपछि आवेशमा महतोलाई एक दुई थप्पड हिर्काएको स्वीकार गरे । आवेशमा आएर हात छोड्नु आफ्नो गल्ती भएको नासु यादवको स्वीकारोक्ति छ । कर्मचारीहरुले भने अनुसार ढोकामा कुनै क्षति भएको देखिँदैन ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्