किन गयो २१ वर्षीय रिंकीको ज्यान ? हत्या कि आत्महत्या ? के भन्छ प्रहरी अनुसन्धान ?



वीरगन्ज– दाइजोको विवादमा पर्सामा एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन् ।

दाइजोकै कारण महिलाको ज्यान गुमाएका घटनाहरु आइरहेका बेला हरदासपुरकी २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। उनको मृत्युलाई माइती पक्षले रिंकुको हत्या भएको दाबी गरेका छन भने घरपक्षले आत्महत्या भनेको समाचार नागरिक न्युजमा छापिएको छ ।

दाइजोमा दिएको खेत बेच्न नमान्दा पर्साको पर्सागढी नगरपालिका – ४ हरदासपुरका भुपेन्द्र पटेलकी श्रीमती रिंकुको हत्या गरिएको भन्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी घेराउ गर्न आएका माइती पक्षले रिंकीको श्रीमान, सासु, देवर र जेठाजुले मिलेर हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गरे ।

शंकास्पद अवस्थामा प्रहरीले शव बरामद गरेपनि प्रहरी आरोपीलाई बचाउने खेलमा लागेकाले प्रदर्शनमा उत्रिएको माइती पक्षले प्रतिक्रिया दिएका छन्। सोमबार करिब दुई सयको संख्यामा आएका माइतीका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए।

मृतकका बुवा प्रभुप्रसाद कुर्मीले छोरीलाई आफूले दाइजोमा ५ कठ्ठा खेत दिएको र सोही खेतको विषयलाई लिएर छोरीको हत्या गरिएको भन्दै उनी भक्कानिए।

प्रसादले भने, ‘के थाहा मैले दिएको जग्गाले मेरो छोरीको ज्यान लिन्छ भनेर ।’ उनका अनुसार ज्वाईले उक्त खेत बेचेर चारपाङ्ग्रे गाडी किन्न रिंकीलाई दबाब दिँदै आएका थिए। आइतबार बिहान साढे ११ बजे तिर घटनास्थलमा प्रहरी पुग्दा पासो काटेर शव खाटमा सुताइएको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पासो काटेर शव खाटमा सुताएले शंका उत्पन्न भएको छ ।

‘शव पोष्टमार्टमका लागि सोमबार नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ, पोष्टमार्टम हुँदैछ, यसमा मृत्युको कारण खुलेर आउँछ, त्यसपछि अनुसन्धान अघि बढाउन मद्दत मिल्छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्