भेनेजुयला, ८ जेठ
भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरो आगामी छ वर्षका लागि अनुमोदित भएका छन ।
भेनेजुयलाको निर्वाचन अधिकारीले निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएको घोषणा गरेका छन् । पूर्व सैनिक अधिकारी समेत रहेका मडुरोका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त छन ।
“हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ । हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ,” शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा मडुरोले बताए ।
यसैबीच निर्वाचनबाट आगामी छ वर्षका लागि राष्ट्रपतिमा अनुमोदित भएपनि मडुरोमाथि दवाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुयलाबाट फिर्ता बोलाएका छन् । निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा गरेका हुन् । अमेरिका, क्यानडा, यूरोपेली यूनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन् ।
ल्याटिन अमेरिकामा भेनेजुयलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुयलाको अर्थतन्त्रमा इतिहासकै सवैभन्दा कडा सङ्कट आएको बताउने गरिन्छ । भेनेजुयलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन ।
मडुरोको विरोधीहरूले भेनेजुयलामा मानवीय तथा राजनीतिक सङ्कट गहिरिएको बताउँदै आएका छन् । उनीहरूले मडुरोको जीतपछि भेनेजुयलामा प्रजातान्त्रिक मुल्य मान्यताकोे हार भएको ठहर गरेका छन् ।
मडुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ । मडुरोले सन् २०१३ देखि ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।