पश्चिम नवलपरासी र चीनको बाओजी सिटीबीच भगिनी सम्झौता ।।



सैघाली खबर/नवलपरासी, ८ जेठ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सम्झौता भएको छ । बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग भेटघाट गरी दुवै देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

सो सम्झौतामा दुवै देशका नगरपालिकाले गर्ने विकास निर्माण तथा कृषि विकासको काममा सहयोग आदानप्रदान हुने रामग्राम नगरपालिकाले जनाएको छ । त्यस्तै, बाओजी सिटीका उपमेयरलाई नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालमा पनि अवलोकन तथा भेटघाट गराइएको थियो । सो अवसरमा त्यहाँको अवस्था तथा प्रविधिको बारेमा छलफल भएको थियो । त्यहाँ भएको प्रविधि पुरानो तथा केही प्रविधिको व्यवस्था नभएका कारणले अलपत्र परेको जानकारी गराइएको थियो ।

त्यसैक्रममा बाओजी सिटीका उपमेयरले आफ्नो नगरपालिका फर्केपछि अतिआवश्यक प्रविधिको सहयोगसमेत गर्ने बताए । रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तुप, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास गर्न विशेष सहयोग हुने बाओजीका उपमेयरले बताए । सो कार्यक्रममा चीनको बाओजी सिटीबाट आएको टोलीमा विभिन्न ठूलठूला औद्योगिक क्षेत्रका उद्योगीको पनि उपस्थिति रहेको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्