सल्यानमा भ्रष्टाचारी भन्दै नेकपाले सार्वजनिक गर्याे ६ प्रमुखसहित १३ जनप्रतिनिधिकाे नाम (लिष्टसहित)



सैघाली खबर,

जेठ ८ सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा भ्रष्टाचारी भन्दै ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखसहित १३ जनप्रतिनिधिको नाम सार्वजनिक गरेको छ । जसमा ३ नगरिप्रमुख र ३ गाउँप्रमुख रहेका छन् ।

सो पार्टीको जिल्ला जनपरिषद्ले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेर स्थानीय तहमा निर्वाचित भएपछि जिम्मेवारीमा रहेर भ्रष्टाचार र लुट मच्चाएको भन्दै १३ जना जनप्रतिनिधिको नाम सार्वजनिक गरेको बताएको छ । नेकपाले तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनतासामू माफी माग्न अपिल समेत गरेको छ ।

नेकपाका सल्यान जनपरिषद् प्रमुख प्रतीकले जारी गरेको प्रेस विज्ञप्तिमा कुपिण्डे नगरपालिका मेयर गोविन्द पुन, बाघचौर नगरपालिका मेयर लोकमान बुढाथोकी र शारदा नगरपालिका मेयर सुरेश अधिकारी, सिद्ध कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर चलाउने, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी र कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुलाई भ्रष्टाचार गरेको रकम फिर्ता गर्न र आगामी दिनमा जनविरोधी क्रियाकलाप नगर्ने प्रतिवद्धता जाहेर गर्न आग्रह गरिएको छ । उनीहरुले नक्कली बिल पेश गरेर रकम खाएको दाबी विज्ञप्तिमा जनाइएको छ । उनिहरुलार्इ भ्रष्टाचारीको आरोप लगाउँदै रकम फिर्ता र जनताका विरुद्ध हर्कत नगर्न चेतावनी दिइएको छ ।

जनताको बिचमा खडा भएर आफूले गरेको भ्रष्टाचार रकम र अपराध स्वीकार गरेर माफी मागेर जनपक्षीय निर्णय लिइएमा सच्चिने र सुध्रिने मौका दिइने पनि प्रमुख प्रतीकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस्तै विज्ञप्तिमा विभिन्न नगरपालिका र गाउँपालिकाका गरी ७ वटा वडाध्यक्षलाई पनि भ्रष्टाचार रकम जनताबिच याचनासहित फिर्ता गर्न र आइन्दा जनताको हितविपरीत कार्य नगर्ने प्रतिवद्धता जनाउन पनि अपिल गरिएको छ । पदमा बसेर उनीहरुले नातागोतालाई कर्मचारीमा भर्ना गर्ने, विककास निर्माणमा चर्को कमिसन खाने, आफैं डोजर किन्ने, भ्रष्टाचारबारे कुरा उठाउनेलाई सुराकी गरेर प्रहरी लगाई गिरफ्तार गराउने र झुटा मुद्दा लगाउन प्रशासनलाई उक्साउने जस्ता जनविरोधी कार्य गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

ती वडाध्यक्षहरुमा शारदा नगपालिका–८ का अध्यक्ष जुद्धबहादुर बृुढाथोकी, शारदा नपा–६ का अध्यक्ष भिकराज बुढाथोकी, शारदा नपा–१२ का अध्यक्ष दीपक हमाललाई स्थानीय तहमा बसेर राज्य कोष रकम भ्रष्टाचार गरेको भन्दै फिर्ता गर्न आग्रह गरिएको छ । बाघचौर नपा–५ का अध्यक्ष डिल्ली वली, बाघचौर नपा–८ का अध्यक्ष रोमु शाही, दार्मा गाउँपालिका–६ का अध्यक्ष दुर्गा मल्ल र दार्मा गाउँपालिका–२ का अध्यक्ष डिल्ली केसीलाई पनि भ्रष्टाचार गरेको रकम जनताबिचमा उपस्थित भएर फिर्ता गर्न र आइन्दा त्यस्तो जनविरोधी क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाउन आग्रह गरिएको छ ।

आग्रहलाई अटेर गरी जनविरोधी कार्यलाई नस्वीकार्ने र थप हर्कत जारी राखेमा जनताको साथ लिई जनकारवाही गर्ने चेतावनी जिल्ला जनपरिषद्का प्रमुख प्रतीकले दिएका छन् । पछिल्लो समयमा स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले राज्यको कोष र स्थानीय बजेटमा चरम मात्रामा भ्रष्टाचार गरेको उजुरीको आधारमा छानबिन गर्दै दोषीमाथि जनकारवाहीको श्रृंखला चलाउँदै दाबी नेकपाले गर्दै आएको छ ।

भ्रष्टाचारी र घुसखोर–कमिशनखोरलाई पार्टीले केन्द्रदेखि नगर, गाउँ र वडा स्तरसम्म कारवाही जारी राखेको स्मरण विज्ञप्तिमा गरिएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ती

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्