प्रदेश ४

प्रहरीले समातेको व्यक्ति हतकडीसहित भागे पछि……..

By थाहा अनलाइन

May 22, 2018

सैघाली खबर/पोखरा, ८ जेठ। पोखराको प्रस्याङमा गएराति केही व्यक्तिहरुबीच झगडा भएपछि पुगेको प्रहरीले झगडामा संलग्नलाई हतकडी लगाएकोमा एक जना हतकडीसहित भागेका छन् । स्थानीय राजकुमार परियार हतकडीसहित भागेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

आफ्नै घरमा तोडफोड गरिरहेका उनलाई स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले हतकडी लगाएको थियो । प्रहरीले उनको खोजी गरिरहे पनि भेटाउन सकेको छैन । राति र बिहान ठूलो मात्रामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीको संख्या कम भएका कारण झगडियाहरु भागेको हुनसक्ने कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

‘रक्सी खाएको मान्छे समाउन धेरै प्रहरी चाहिँदैन भनेर थोरै मात्रै गएका थिए । हतकडी लगाएपछि प्रहरीलाई नै झुक्याएर भागे’, उनले भने, ‘भाग्नेहरुको खोजी भैरहेको छ । पक्राउ गरेर कारबाही गर्छौं ।’ वडा प्रहरी कार्यालय बैदामले एक जना मात्रै हतकडीसहित भागेको जनाएको छ भने स्थानीयले चाहिँ अन्य केही व्यक्तिहरु पनि प्रहरीको गाडीमा चढाइसकेपछि हाम फालेर भागेको बताएका छन् ।।