रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु ।।



सैघाली खबर/काठमाण्डौं, ८ जेठ।
चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ । यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगतरुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन सुरु गरेका हुन् । रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन सुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीसहितको उच्च सरकारी अधिकारी टोली रेलमार्ग निर्माणसम्बन्धी अध्ययन गर्न चीन गएको थियो । सोही टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी नेपाल आएका छन् ।

सचिव अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी काठमाडौं आएका हुन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर उपाध्यायकाअनुसार चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसहितको टोलीले काठमाडौंमा रेल स्टेसन रहने स्थान र रसुवाका विभिन्न क्षेत्रमा अध्ययन सुरु गरेको छ । हालको अध्ययनबाट रेलमार्ग निर्माणको एउटा महत्वपूर्ण खाका तयार हुने विश्वास लिइएको छ । आगामी अगस्टसम्म केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

यसअघि, नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो । हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणकाक्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणकाबारेमा छलफल भएको थियो । सो छलफललगत्तै चिनियाँ रेल प्रशासनको उच्च टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्नसकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणकाक्रममासमेत रेलमार्ग निर्माण तथा विस्तारकाबारेमा महत्वपूर्ण छलफल एवं विचार–विमर्श भएको थियो । सोही छलफल र विचार–विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारीसमक्ष आग्रह गरेका थिए । नेपाली सीमा रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्ग करिब १०० किलोमिटर लामो हुनेछ । करिब एक घन्टाको यात्रामा रसुवागढीबाट काठमाडौं आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी जानेगरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । सो रेलमार्गमा ६ ओटासम्म स्टेसन रहने बताइएको छ । प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तथा लगानीको स्वरुप र ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ । यस्तै, काठमाडौं उपत्यकामा पनि मोनोरेल चलाउन चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । चक्रपथमा मोनोरेल चलाउन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो ।

सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममासमेत रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रममा मेची–महाकाली रेलमार्ग, काठमाडौं–वीरगन्ज रेलमार्ग तथा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण अगाडि बढाउने विषय समेटिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्