पेस्तोलसहित एक क्विन्टल गाँजा बरामद, घरधनी भने सबै भागे ।।



सैघाली खबर/महोत्तरी, ८ जेठ।
प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–३, अजमरपट्टीबाट हतियार र लागुऔषध गाँजा बरामद गरेको छ । अजमरपट्टीको दुई घरमा चेकचाँज गर्दा प्रहरीले एउटा पेस्तोलसहित एक क्विन्टल गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुको नेतृत्वमा खटिएको टोलीले स्थानीय जितेन्द्रकुमार मण्डल र रामनन्दन मण्डलको घरमा खानतलासी गर्दा हतियार र गाँजा बरामद गरेको हो । प्रहरी आएपछि घरधनीहरु सबै भागेको जनाइएको छ ।

खानतलासीक्रममा जितेन्द्रकुमार मण्डलको घरबाट ‘प्याक’ गरिएको गाँजा १२ प्याकेटमा रहेको ४६ किलो, तौल गर्ने डिजिटल बेटिङ मेसिन, कमानी तराजु, विभिन्न ढक तथा रामनन्दन मण्डलको घरभित्र १९ प्याकेटमा रहेको १४० किलो गाँजा, सामसुङ कम्पनीको मोबाइल एकथान, घरेलु बनावटको ‘अटोमेटिक’ पुरानो पेस्तोल तथा त्यसमा ‘फिट’ रहेको म्याग्जिन र ‘मिस फायर’ गोली तीन राउन्ड बरामद गरिएको प्रहरीले जनाएको छ । सो गाँजा भारत तस्करी गर्न राखिएको हुनसक्ने भन्दै प्रहरीले घरधनीको खोजीकार्यमा तीव्रता दिइएको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्