दैनिक एउटा अण्डाले मुटुको समस्याबाट छुट्कारा



सैघाली खबर
काठमाण्डौं,९ जेठ
चीनका १० भिन्दाभिन्दै क्षेत्रमा ४ लाख भन्दा बढी मानिसहरुमा ९ वर्षसम्म गरिएको सर्वेक्षणपछि दैनिक एउटा अण्डा खानाले हृदयसम्बन्धी रोग र हृदयघातबाट बचाउन सक्ने देखाएको छ ।यसअघि अधिकांश चिकित्सकहरुले अण्डामा हुने कोलेस्ट्रोलका कारण आफ्ना बिरामीलाई धेरै अण्डा नखान सुझाव दिने गर्थे । तर सोमबार प्रकाशित यस अध्ययनपछि भने मानिसहरुले अण्डा सेवन गर्न डराउनुनपर्ने वैज्ञानिकहरुको भनाइ छ । तर यस प्रक्रियामा केबल कुखुराको अण्डा मात्र प्रयोग गरिएको बताइएको छ ।

यस सर्वेक्षण कार्यक्रमका प्रमुख अध्ययनकर्ता र पेकिङ युनिभर्सिटी अफ पब्लिक हेल्थका प्रोफेसर क्वानकिङ युका अनुसार यसअघिका अध्ययनहरुमा अत्यन्तै थोरै प्रमाणका आधारमा अण्डाबारे अनुमान लगाइएको थियो । त्यसकाराण उनको टोलीले पर्याप्त नतिजा हासिल गर्नकै लागि ठूलो सङ्ख्यामा क्यानसर, मधुमेह र हृदयसम्बन्धी कुनै रोग नलागेका चार लाख मानिसहरुमा नौ वर्षसम्म लगातार अध्ययन सुरु गरेका थिए । उनका अनुसार सहभागीहरुमा ९ प्रतिशतले चाहिँ अत्यन्तै कम अण्डा सेवन गर्ने गरेका थिए ।

यसैको फलोअपका क्रममा नौ हजार मानिसहरुको हृदयघातका कारण मृत्यु भएको थियो भने यस समय अवधिभरि ८४ हजारलाई हृदयसम्बन्धी रोग लागेको थियो । तर उता दैनिक अण्डा खानेहरुमा भने हृदयघातको सम्भावना २६ प्रतिशतले कम भएको पाइएको हो । यस्तै प्रकारका जानकारीहरुको आधारमा अनुसन्धानकर्ताले दैनिक एउटा अण्डा खानेहरुमा हृदय सम्बन्धी रोगको खतरा अत्यन्तै कम भएको पत्ता लगाएका हुन् । अहिले यही अध्ययनबारे विश्वभर चर्चा भइरहेको छ ।

तर अर्कोतर्फ एकभन्दा बढी अण्डा खानु भने सबैका लागि लाभदायक नहुन पनि सक्ने बताइएको छ । युनिभर्सिटी अफ क्याम्ब्रिजकी प्रोफेसरले यसै अध्ययनबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘यस प्रकारको अनुसन्धानमा धेरै सिमित नतिजा मात्र प्राप्त गर्न सकिन्छ तर चीनमा ठूलो सङ्ख्यामा गरिएको यस सर्वेक्षणले भने अण्डासँग मुटुलाई कुनै खतरा नभएको प्रमाणित गरेको छ भने दैनिक एउटा खानुले स्वास्थ्यलाई लाभ समेत गर्ने पत्ता लागेको छ ।’ त्यसैले अब भने मानिसहरुले चिन्तामुक्त भएर अण्डा खानुपर्ने बेलायती डायटिक असोसिएसनका चिकित्सिक फिलिप्सको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्